वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ५ सय ८४ म्यानपावर कम्पनीहरुलाई कारवाही गरेको छ । वैदेशिक रोजगार ऐन विपरीत काम गरेको भन्दै यति ठूलो संख्यामा म्यानपावर कम्पनीहरुलाई कालो सूचीमा राखेर कारवाही गरेको हो ।
कानुन विपरित विदेश जाने कामदारसँग धेरै पैसा असुल्ने, विदेशमा कामदारलाई अलपत्र पार्ने लगायतका क्रियाकलाप गर्ने कम्पनीहरुलाई विभागले एकमुष्ठ कालो सूचीमा राखेको हो ।
कालोसूचीमा परेका म्यानपावरले विभागले दिएको निर्देशन अटेर गर्ने र आफ्नो आचरण नसुधारे खारेज नै हुन सक्ने प्रावधान रहेको छ । विभागले यसअघि पनि सय भन्दा बढी म्यानपावरलाई कालोसूचीमा राखेर खारेजी गरिसकेको जनाएको छ ।
आर्थिक ठगी, कामदारको राहदानी लिएर फिर्ता नगर्ने, कामदारसँग अग्रिम पेश्की लिने र सरकारले तोकेभन्दा धेरै पैशा असुल्ने म्यानपावरलाई कारबाही गर्न सक्ने ऐनको व्यवस्था अनुसार नै म्यानपावरहरुलाई कारबाही गरेको विभागका निर्देशक तथा सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए ।
विभागले उजुरी परेका म्यानपावरलाई पहिला कामदारका समस्या समाधान गर्न आग्रह गर्ने र अटेर गरे म्यानपावरहरूको काम कारबाही रोक्का गरी कालोसूचीमा राख्ने गरेको छ । वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन पनि विभागले उक्त कदम चालेको भट्टराईले जानकारी दिए ।
विभागले ठूलो आर्थिक ठगीको उजुरी परेका म्यानपावर कम्पनीहरूको धरौटी रकमबाट पीडितलाई क्षतिपूर्ति दिलाउने काम गर्दै आएको छ । म्यानपावरहरुले २ करोड देखि ६ करोड रुपैयाँ सम्म कम्पनी संचालन धरौटी राख्नुपर्ने हुन्छ । सोहि आधारमा पिडितलाई विभागले न्यायोचित रुपमा क्षतिपूर्ति दिलाउने काम गर्छ ।




















प्रतिक्रिया