कोरोना महामारीका कारण अन्तराष्ट्रिय हवाई उडान हुन नसक्दा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई आर्थिक घाटा भएको छ अर्थात आम्दानीमा ठूलै गिरावट आएको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ ।
कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति विवरणमा महामारीका कारण प्राधिकरणको आव २०७६/०७७ को प्रक्षेपित आम्दानीमा ४३ प्रतिशत र आव २०७७/०७८ मा ७२ प्रतिशतले गिरावट आएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा विसं २०७६ फागुनदेखि विश्वमा देखापरको कोरोनाको महामारीका कारण प्राधिकरणको स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रम २०७७/०७८ मा समेत प्रभावित भएको उल्लेख गरेको छ । नेपाल सरकारको शेयर लगानी तथा दातृ निकायको ऋण सहयोगमा सञ्चालित विमानस्थल पूर्वाधार विकाससँग सम्बन्धित आयोजनामा पनि पटकपटकको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण काममा अवरोध उत्पन्न भई सम्पन्न हुने चरणमा रहेका आयोजना पछाडि धकेलिन पुगेको प्रतिवेदनमा जनाइएको छ ।
कोभिड कहरले गर्दा अन्तर्राष्ट्रियतर्फ अघिल्लो वर्षको तुलनामा ७३ दशमलव २७ प्रतिशतले हवाई यात्रु घटेका छन् । प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ हवाई यात्रु सङ्ख्या ४१ लाख ३८ हजार ५६३ रहेको थियो भने सन् २०२० मा यो सङ्ख्या ७३.२७ प्रतिशतले घट्न गई ११ लाख पाँच हजार ९२९ कायम हुन पुगेको छ ।
त्यसैगरी आन्तरिक उडानतर्फ पनि अघिल्लो वर्षको तुलनामा ५९ दशमलव ४६ प्रतिशतले घटेको छ । सन् २०१९ मा ३१ लाख ८८ हजार ४२९ हवाई यात्रु आवागमन भएकामा सन् २०२० मा यो सङ्ख्या ५९.४६ प्रतिशतले घटेर १२ लाख ९२ हजार ५२१ कायम भएको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको हुँदा उक्त वर्ष उल्लेखनीय सङ्ख्यामा विदेशी यात्रुको आगमन हुने अपेक्षा गरिएकामा कोभिडका कारण हवाई तथा पर्यटन क्षेत्र धराशायी जस्तै हुन पुगेको छ । अन्तर्राष्ट्रिय उडानतर्फ तीन नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । यस्तै आन्तरिक उडानतर्फ नौ वायुसेवा र १० हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।




















प्रतिक्रिया