Logo

स्वास्थ्य

खोप लगाएपछि सुरक्षित महसुस गरेँ : स्वास्थ्यमन्त्री



स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप लगाएपछि आफूले सुरक्षित महसुस गरेको बताएका छन् ।बुधबार मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर खोप लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । मन्त्री त्रिपाठीले खोप सुरक्षित रहेको भन्दै सबै नागरिकलाई ढुक्कले लगाउन आग्रह समेत गरेका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विना हिच्किचाहट सहज रूपमा खोप लगाउन सबैलाई आग्रह गरे । खोप लगाएपछि उनले प्रतिक्रिया दिँदै भनेका छन्- ‘खोप लगाउनका लागि कुनै पनि खालको तनाव लिन आवश्यक छैन । खोप प्रमाणित भइसकेको छ, सबैले लगाऔं ।’

प्रतिनिधिसभाको बैठक आगामी आइतबारदेखि सुरू हुँदैछ । अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई खोपको व्यवस्था गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटा, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु लालबाबु पण्डित, मात्रिका यादव, देवप्रसाद गुरुङ लगायतले पनि खोप लगाइसकेका छन् ।

नेपालमा फागुन २३ गतेदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान सुरु हुँदैछ । सरकारले थप ५० लाख डोज खोप खरिदका लागि प्रक्रिया समेत अगाडी बढाइसकेको मन्त्री त्रिपाठीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  १ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।