Logo

कर्पोरेट फोकस

वायु सेवा निगम सुधारको लागि अर्थमन्त्री शर्माले लिए पहल, एक उच्च स्तरीय समिति बनाउन सुझाव



नेपाल वायु सेवा निगम सुधारको लागि अर्थ मन्त्रालयले पहल थालेको छ । निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन मन्त्रालयले सुझाव दिएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माको सक्रियतामा शुक्रबार मन्त्रालयमा आयोजित छलफलमा कार्यक्रममा निगमको पूर्नसंरचनाको लागि पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गर्नु उपयुक्त हुने धारणा राखिएको छ । यसरी गठन गरिएको समितिले १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन अर्थमन्त्री शर्माले सुझाव दिए ।

निगम सुधारको लागि हालसम्म भएका विभिन्न समितिले दिएका प्रतिवेदनहरु अध्ययन गरी उपयुक्त विकल्प निकाल्न सके सरकारले आवश्यक निर्णय गर्न सक्ने मन्त्री शर्माको भनाई छ ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र पर्यटन सचिव यादव कोइरालाले निगम सुधारको लागि सामान्य खालको टालटुले उपाय लगाएर अब वायु सेवा निगम उँभो नलाग्ने भन्दै राजनैतिक तहबाटै आवश्यक निर्णय लिनुपर्ने बताए ।

छलफलमा निगमका प्रवन्ध निर्देशक डिम प्रसाद पौडेलले नेपाल एयरलाईन्सको वर्तमान अवस्था र भावि रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरे । उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको बताए ।

निगमको हाल ५० अर्ब ऋण तथा ११ अर्ब संचित नोक्सानीमा रहेको भन्दै पौडेलले साढे पाँच सयको हाराहारीमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताए ।

विश्वका विभिन्न एयरलाईन्सहरुको उदाहरण दिंदै पौडेलले एक एयरक्राफ्ट बराबर औसतमा एक सय २५ कर्मचारी राख्नु पर्नेमा निगमसँग एक एयरक्राफ्ट बराबर २३० जना कर्मचारी रहेको बताए ।

छलफलमा राजश्व सचिव कृष्णहरि पुष्कर, वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीसहित अर्थ र पर्यटन मन्त्रालयका सहसचिवहरु सहभागी थिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।