Logo

अर्थ

सेयरबाजारमा आएको गिरावट रोक्न राष्ट्र बैंकको अप्रत्यक्ष सम्बोधन



नेपाल राष्ट्र बैंकले सेयर बजारमा आएको गिरावटलाई रोक्नेगरी सम्बोधन गरेको छ । मौद्रिक नीतिका कारण सेयर धितो ऋणमा कडाइ हुँदा निरन्तर बजार घट्दै गएपछि लगानीकर्ताहरुले पुँजी बजार सुधार गर्नुपर्ने नीति ल्याउन माग राखेका थिए । तर राष्ट्र बैंकले आफ्नो वेवसाइटमा एफएक्यु (बारम्बार सोधिने प्रश्नहरु) शीर्षकमा सेयर धितो ऋण बारे प्रष्टीकरण दिंदै अप्रत्यक्ष रुपमा लगानीकर्ताहरुको मागलाई सम्बोधन गरेको हो ।

राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिको ब्यवस्था अनुसार एउटा बैंकिङ संस्थाबाट सेयर धितो राखेर बढीमा ४ करोड र सबै गरेर १२ करोडसम्म लिन पाउने ब्यवस्था गरेको छ । यो ब्यवस्थापछि सेयर बजार निरन्तर घटिरहेको छ । आइतबार त बजार १०८ अंकले घटेको थियो । सोमबार पनि बजारमा तीब्र उतारचढाब छ ।

यसै सन्दर्भमा राष्ट्र बैंकले ‘के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ?’ भनेर प्रश्न उठाउँदै उत्तर दिएको छ । भनिएको छ- ‘उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाइन्छ ।’

ुबैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्नेछन् ।

राष्ट्र बैंकले दिएको प्रष्टिकरण अनुसार अन्य संस्थाको सेयर किन्ने प्रयोजन बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँको सीमा लागू हुँदैन ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।