Logo

कर्पोरेट फोकस

पाँच बर्षमा ११ अर्ब लगानी स्वीकृत गर्ने लगानी बोर्डको योजना, १ लाखलाई रोजगारी दिने लक्ष्य



लगानी बोर्डले आगामी ५ वर्षमा ११ खर्ब रुपैयाँ भन्दा बढी (१० अर्ब अमेरिकी डलर) बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले आफ्नो १० औं वार्षिकोत्सवको अवरसरमा तयार पारेको रणनीतिक योजना सार्वजनिक गर्दै उल्लेखित रकम बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य लिएको हो ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले बोर्डको १० औं वार्षिकोत्सवको अवसरमा वुधबार आयोजित विशेष कार्यक्रममा ५ वर्षे व्यावसायिक रणनीतिक योजना सार्वजनिक गरेका हुन् । रणनीतिक योजना अनुरुप ५ वर्षमा ११ खर्ब रुपैंयाँ बराबरको लगानी स्वीकृत गर्ने, ७ खर्ब रुपैयाँ सार्वजनिक निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने, कम्तीमा १ लाख रोजगारी सृजना गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सन् २०३० सम्ममा नेपाल उच्च मध्यम आय भएको मुलुकको रुपमा स्तरोन्नति हुँदै दिगो विकास लक्ष्यहरु हासिल गर्ने योजना सहित अगाडि बढेकोले यसका लागि पूर्वाधारमा उल्लेख्य लगानी आवश्यक रहेको बताए । उनले दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि कुल वार्षिक औषत ५ खर्ब ५८ अर्ब रुपैयाँ अपुग हुने देखिएपनि लगानी आकर्षित गर्ने काममा सरकार लागिरहने बताए ।

समारोहमा अर्थमन्त्री जनार्दन शर्माले देशमा निजी लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारले सक्दो सहयोग गर्ने बताए । उनले आगामी १० वर्षमा सरकारले लिएका लक्ष्य पुरा गर्न सार्वजनिक निजी साझेदारीको अवधारणाबाट ठूला पूर्वधार परियोजनामा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रमा ठूला लगानी आवश्यक रहेको बताए । उनले केही वर्षभित्रै लगानी बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा विकास हुने भन्दै ५ बर्षे रणनीतिक योजनाले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।