सरकारले चालू आर्थिक वर्ष २०७८र०७९ को प्रतिस्थापन विधेयक मार्फत आउन लागेको बजेटमा स्रोत सुनिश्चित नभएका आयोजनाहरु कटौती गरेको छ । तत्कालिन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा स्रोत सुनिश्चित नभएका थुप्रै आयोजनाहरु रहेको भन्दै कटौती गरिएको हो ।
प्रतिस्थापन विधेयकले बजेटमा समावेस भएका आयोजनाहरु कटौती गर्दा बजेटको आकार पनि घट्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ । बजेटको आकार घट्ने पक्का भएपनि कति आकारमा घट्ने भन्ने एकिन भइनसकेको स्रोतको दावी छ । ओली नेतृत्वको सरकारले जेठ १५ गते चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले यसअघि ३ खर्ब रुपैयाँभन्दा बढीका सडक आयोजनाको स्रोत सुनिश्चित नगरी बजेटमा समावेश गरिएको बताउँदै आएका छन् । उनले पूर्वतयारी र बजेट नै सुनिश्चित नगरी अघि बढाएको २ हजार सडकमा ठेक्का नलगाउन र बजेट निकासा नगर्न निर्देशनसमेत दिइसकेका छन् । यसले पनि बजेटको आकार घट्ने अनुमान गरिएको छ ।
मन्त्रालयले बजेटमा आन्तरिक ऋण र करका दरमा हेरफेर नहुने जनाइएपनि केहि शिर्षकहरुमा राजस्व जरिवाना छुट दिने नीति लिएको बुझिएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक शुक्रबार संसदमा पेश गर्ने तयारी गरेपनि प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरुद्ध गर्ने संकेत देखिएकाले शुक्रबार पनि प्रतिस्थापन विधेयक पेश हुने वा नहुने कुनै टुङ्गो छैन ।




















प्रतिक्रिया