एनआईसी एशिया बैंकले हिन्दु नारीहरुले श्रद्धा र भक्तिपूर्वक मान्दै आएको तीज पछि आउने ऋषि पञ्चमीलाई पाप पखाल्ने दिनको रुपमा चित्रित गरेको छ । बैंकले आफ्नो प्रचार गर्ने उदेश्यले उक्त दिनलाई महिलाहरुले पाप पखाल्ने दिनको रुपमा लिएको भन्दै विज्ञापन नै बनाएको छ ।
बैंकले भनेको छ- ‘आजको दिन रजस्वला सुरु भइसकेका महिलाहरुले रजस्वला हुँदा आफुबाट केहि गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ति कुराहरुको शुद्धिका लागि पूजा अर्चना गर्दछन् ।’
यसरी महिलाहरुले युगौंदेखि मान्दै आएको पर्वलाई पाप पखाल्न गरिएको क्रियाकलाप भन्दै बैकले विज्ञापन निकालेपछि सर्वत्र आलोचना र विरोध सुरु भएको छ । अहिले बैंकको उक्त विज्ञापन सामाजिक संजालमा महिला विरुद्ध भएको हिंसा भन्दै भाइरल भएको छ । यतिखेर सर्वत्र कारवाहीको लागि माग उठिरहेको छ ।
विभिन्न महिला अधिकारकर्मीहरुले बैंकको यस्तो हर्कतलाई महिला हिंसा र संविधान विपरितको कार्य भनेका छन् । यसमा संचारकर्मी देखि डक्टर र सामाजिक अभियन्ताहरुले पनि बैंकलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने माग गरिरहेका छन् ।
महिला अधिकारकर्मी एवं संचारकर्मी आरती चटौतले बैंकले विज्ञापनमा प्रयोग गरेको भाषा र आशयले गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन्
‘एक सामान्य प्राकृतिक प्रक्रियालाई ‘गल्ति वा त्यस बेला गरेका कार्यलाई अमर्यादित’ भन्दै शुद्ध गर्नु पर्ने, यो पाप हो भन्दै….महिनावारीका सम्बन्धमा जसरी यी बिज्ञापन भनिएको छ त्यो घोर आपत्तीजनक संगै नेपालको संविधान र कानुन बिपरित छ । यस प्रकारले सार्वजनिक अभिब्यक्ति दिनु समेतलाई फौजदारी अपराध गरेको सरह मान्न सकिन्छ ।’
त्यस्तै धार्मिक अभियन्ता सिर्जना वाग्लेले पनि ऋषि पञ्चमी कुनै कुसंस्कार नभइ महिलाहरुले मान्दै आएको सामाजिक एवं धार्मिक आस्था रहेको बताइन् । उनले भनिन्– ‘यसलाई पापको रुपमा बैंकले व्याख्या गर्नु आम हिन्दु नारीहरुप्रति देखाएको असहिष्णु र हिंसाजन्य व्यवहार हो । यसप्रति हाम्रो आपत्ति छ । तत्काल बैंकले माफि माग्नुपर्छ अन्यथा बैंकमाथि संबन्धित निकायले कारवाही गर्न माग गर्दछु ।’
त्यस्तै बरिष्ठ कलेजो रोग विशेषज्ञ सुधाम्शु केसीले पनि बैंकहरुको मानसिकता परिवर्तन नभएको बताएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्– ‘बैंकहरु किन यस्तो कुसंस्कारको पक्षमा लागेका हुन् ? रजस्वला हुनु भनेको एक शारीरिक प्रक्रिया हो, कुनै पाप होईन भन्ने कुरा बैंकका हाकिम साहेबहरुलाई बुझाउन जरुरी देखियो ।’
बैंकले निकालेको विज्ञापनलाई पक्षपातिपूर्ण व्यवहार भएको अधिवक्ता अमिता गौतम पौडेलले बताइन् । उनका अनुसार नेपालको संविधानमा महिला पुरुषमा कुनै विभेद नभएकाले बैकले एकपक्षिय रुपमा महिलाहरुलाई मात्रै लक्षित गरी अमर्यादित तरिकाले विज्ञापन प्रकाशन गर्नु कानुनतः कारवाहीको भागिदार हुन्छ ।
अनलाईनपानाले बैंकका उपप्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँसँग जिज्ञासा राख्दा यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताए । तर उनले बैंकको आधिकारीक फेसबुक पेजमा राखिएको विज्ञापन हटाई सकिएको भन्दै समाचार सम्प्रेसण नगर्न आग्रह गरे ।
बैंकको हर्कतमा सर्वसाधारणहरुले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोखेका छन् ।
























प्रतिक्रिया