अर्थमन्त्री जनार्दन शर्माले भन्सार विन्दुहरुमा तत्काल भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।
मन्त्री शर्माले भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गरिरहनु नपर्ने बताए । उनले मालसामानको वर्गीकरण र मूल्यांकनमा इमान्दारिता कायम गरी राजश्व संकलन वृद्धि गर्न जोड दिए ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले सुधार, सहजीकरण र सुशासन गरी तीन ‘स’ को अवधारणालाई आत्मसात गर्नुपर्ने बताए । सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन नगराउन उनले आग्रह गरे ।
राजश्वसचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए ।
भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजश्व संकलन गरिने प्रतिबद्धता व्यक्त गरे ।




















प्रतिक्रिया