Logo

अर्थ

नबिल बैंकले गर्यो भुल सुधारः लैंगिक समानता विरोधी सामग्री प्रकाशन नगर्ने



नबिल बैंकले ऋषि पञ्चमीको दिनलाई लैंगिक असमानता झल्काउने गरी महिलाहरुले पाप पखाल्ने दिनको रुपमा चित्रित गरेकोप्रति भुल सुधार गर्दै माफी मागेको छ । बैंकले ऋषि पञ्चमीको अवसरमा आफ्नो आधिकारिक सामाजिक संजालमा संप्रेसण गरिएको संन्देश महिला शसक्तिकरण तथा लैंगिक समानता विपरित हुन गएकोमा भुल सुधार गर्दै माफी मागेको हो ।

बैंकले भुल सुधार गर्दै आफ्नो आधिकारिक सामाजिक संजालमार्फत भनेको छ– ‘रजस्वला एक पवित्र प्राकृतिक प्रक्रिया हो, यस लगायत सामाजिक न्यायको हरेक सवाललाई बैंक सम्मान गर्दछ । आगामी दिनमा यस बैंकबाट प्रसारित तथा प्रकाशित हरेक सामग्री लैंगिक समानतालाई ध्यानमा राखि प्रकाशित/प्रसारित गरिने हामी प्रतिवद्धता व्यक्त गर्दछौं ।’

बैंकले ऋषि पञ्चमीको दिन पौराणिक कथन अनुसार भन्दै ‘नारीहरुले रजस्वला हुँदा जानेरै वा नजानीकनै गरेका जतिपनि पापहरु छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषि पञ्चमी व्रत बस्ने गरेको विश्वास छ’ भनेर सामाजिक संजालमा प्रचार सामग्री प्रकाशन गरेको थियो ।

बैंकको यस्तो क्रियाकलापलाई विभिन्न क्षेत्रमा सक्रिय महिला अधिकारकर्मी, सामाजिक अभियन्ताहरुले बैंकको महिला हिंसा र संविधान विपरितको कार्य भन्दै बैंकलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने माग गरेका थिए । लगत्तै बैंकले आफुले प्रकाशन गरेको सामग्रीप्रति भुल सुधार गर्दै माफी मागेको हो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार ११:५४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।