निर्जीवन बीमा कम्पनीहरुले आर्थिक बर्ष २०७७/०७८ को झण्डै २० अर्ब रुपैंयाँ दावी भुक्तानी रोकेका छन् । यसअघि पनि दावी भुक्तानी नदिएर आलोचित बन्दै आएका निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ८६ करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको तथ्य फेला परेको हो ।
बीमा कम्पनीहरुले समयमै दावी भुक्तानी नगर्दा बीमितहरु मर्कामा परेका छन् भने बीमाप्रति जनविश्वास घट्दो क्रममा छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पनि निर्जीवन बीमा कम्पनीहरुले १३ अर्ब ८८ करोड रुपैयाँको दावी भुक्तानी रोकेका थिए । उक्त वर्ष ३६ हजार ५२९ वटा पोलिसीको दावी भुक्तानी हुन सकेको थिएन ।
निर्जीवन बीमा कम्पनीहरुको शाखः जोगाउन पनि समयमै दावी भुक्तानी गर्नुपर्ने बीमा क्षेत्रका विज्ञहरु बताउँछन् । तर नेपालका बीमा कम्पनीहरुले विभिन्न बहानामा सकभर दाबी भुक्तानी नै गर्दैनन् नभएपनि समयमा भुक्तानी दिंदै दिंदैनन् ।
बीमा कम्पनीहरुले कहिले सर्भेयरको कारणले त कहिले आवस्यक कागजपत्र पुरा नभएको भन्दै वर्षौसम्म दावी भुक्तानी रोकेर राख्ने गरेको थुप्रै उदाहरण छन् । कम्पनीहरुले समयमा दावी भुक्तानी नगर्दा हरेक वर्ष बीमा समितिमा उजुरीको चाङ लाग्ने गरेको छ ।
पछिल्लो समय कोभिड- १९ का बिरामीहरुको दावी भुक्तानी रोकेका कारण बीमा क्षेत्र निकै आलोचित बन्न पुग्यो । त्यसको असर समग्र बीमा क्षेत्रमा परेको छ । बीमा समितिको सहजीकरणमा कोरोना महामारीको बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीले बीमितहरुलाई ६ अर्ब रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी गर्न बाँकी रहेको छ ।
सबैभन्दा धेरै दाबी भुक्तानी गर्न बाँकी रकम प्रिमियर इन्स्योरेन्सको रहेको छ । प्रिमियरले बीमितलाई २ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । प्रिमियरसहित ८ वटा कम्पनीले १ अर्ब रुपैंयाँभन्दा माथि दावी भुक्तानी गर्न बाँकी रहेको बीमा समितिको तथ्यांकले देखाएको छ ।
त्यस्तै ६ वटा कम्पनीले ५५ करोड रुपैंयाँ देखि ९५ करोड रुपैंया भन्दामाथी दावी भुक्तानी रोकीराखेका छन् । त्यसैगरी ६ वटा कम्पनीले करोडदेखि माथि ५० करोडसम्म दावी भुक्तानीमा ढिलाई गरेका छन् ।
यति ठूलो मात्रामा दावी भुक्तानी नहुनुले बीमा कम्पनीहरु बीमितप्रति खासै उत्तरदायि छैनन् भन्ने देखाउँछ । यसप्रति नियामक निकाय बीमा समितिले ध्यान दिन नसकेको बीमितहरुको गुनासो छ ।





















प्रतिक्रिया