डोमेष्टिक एयरलाईन्स कम्पनीहरुले दशैं, तिहार र छठ पर्वमा हुने यात्रुको चापलाई हेरेर अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरिरहेका छन् । असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ गर्न डोमेष्टिक एयरलाईन्सहरुले अहिलेदेखि नै तयारी थालेका हुन् ।
डोमेष्टिक एयरलाईन्सहरुले यात्रुको चापका आधारमा असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको वायुसेवा सञ्चालक संघले जनाएको छ ।
यद्यपि डोमेष्टिक एयरलाईन्सहरुले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरिरहेको भनेपनि सरकारको तर्फबाट हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।
सरकारको आधिकारिक धारणा नआएका कारण अग्रिम टिकट बुकिङ खुल्ला गर्ने विषयमा अहिले रोकिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । उनले भने– ‘हामी आन्तरिक तयारी गर्दै सरकारसँग पनि समन्वय गरिरहेका छौं । अबको एक दुई दिनमा निर्णय आउने छ र अग्रिम टिकट बुकिङ खुल्ला गरिनेछ ।’
‘
निरन्तर वर्षाका कारण पनि ठाउँ ठाउँमा सडकहरु अवरोध हुँदा त्यसको चाप एयरलाइन्सहरुमा परेको भन्दै कँडेलले सर्वसाधारण यात्रुहरूलाई अहिले नियमित उडानकै लागि पनि टिकट पाउन मुस्किल परिरहेको बताए ।
हाल डोमेष्टिक एयरलाइन्सतर्फ १३ कम्पनीका ४८ उडान मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । यसमा थप चार्टर उडानका लागि हेली सेवा समेत सञ्चालनमा रहेको कँडेलले जानकारी दिए ।




















प्रतिक्रिया