सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत दिने गरी विदेशी पर्यटक आगमनमा लचकता अपनाउने भएको छ । व्यवसायिहरुको जोडबल र थला परेको पर्यटन व्यवसायलाई राहत दिने गरी पर्यटकलाई नेपाल भ्रमणमा सहज बनाउन पर्यटन मन्त्रालयले प्रक्रिया थालेको छ ।
मन्त्रालयले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल भ्रमणको लागि अनुमति दिन मन्त्रिपरिपरिषद्मा प्रस्ताव गरेको छ । पर्यटक आवागमनमा सरलीकरण गर्दै मन्त्रिपरिषद्मा पत्राचार गरिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार आवश्यक गृहकार्य गरेर विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोटोकल बनाएरै क्याबिनेटमा प्रस्ताव पेश गरिएको छ ।
मन्त्रालयले बनाएको नयाँ प्रोटोकल अनुसार अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई हटाइएको छ । अब दुवै मात्रा खोप लगाएर आएका पर्यटकले पीसीआर रिपोर्ट नेगेटिभ भएको आधारमा नेपाल भ्रमण गर्न पाउनेछन् ।
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले खोप सहज हुँदै गए पर्यटकको नेपाल आगमन बढ्ने अपेक्षा गरिएको बताए । उनले विदेशी पर्यटकको भ्रमण सहजताका लागि अनअराइभल भिसाको सुविधा कायमै रहने जानकारी दिए ।
काठमाडौं पर्यटन क्षेत्र सम्बद्ध व्यवसायी र विज्ञले तत्काल कोभिडविरुद्धको खोप लगाइसकेका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल भ्रमणको इजाजत दिन माग गर्दै आएका छन् । खोप लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको परीक्षणपत्र लिएर आउने पर्यटकलाई बिना क्वारेन्टिन प्रवेश र सहज यात्राको वातावरण बनाउन माग गरेका हुन् ।
पर्यटन बोर्डका अनुसार सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको छ । कोरोना महामारीका कारण व्यापार ठप्प हुँदा प्रत्यक्ष, अप्रत्यक्ष र प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा छ ।
चार खर्ब भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा रहेको व्यवसायीले जनाएका छन् । व्यवसायीले तयार पारेको विवरण अनुसार २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसाय तथा उद्यम बन्द भएका छन् ।




















प्रतिक्रिया