वाणिज्य बैंकहरुले आफ्ना सेयर धनिहरुलाई लाभांश वितरण गर्न आवश्यक तयारी थालेका छन् । आठ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणको लेखा परीक्षण गराइ राष्ट्र बैंकमा स्वीकृति लिन आवेदन दिएका छन् ।
बैंकहरुले पेश गरेको वित्तीय विवरणलाई राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र सम्बन्धित बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभाको मिति तय गर्छ भने वार्षिक साधारण सभाको मिति तय गर्दा आर्जित नाफाबाट सेयरधनीलाई दिइने लाभांशसमेत घोषणा गर्छ ।
गत वर्षको वित्तीय विवरणको स्वीकृतिका लागि हालसम्म राष्ट्र बैंकमा सिटिजन्स बैंक, नेपाल इन्भेष्मेण्ट बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र नेपाल पूर्वाधार विकास बैंक पुगेका छन् । यी बैंकहरुले गत आवको नाफाबाट ७ प्रतिशतदेखि साढे २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने जनाइएको छ ।
एक आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधानका आधारमा बैकहरु वित्तिय विवरण स्विकृतिको लागि राष्ट्र पुगेका हुन् । अन्य बैंकहरु पनि राष्ट्र बैंक आउने तयारीमा रहेको स्रोतले जनाएको छ । पुस मसान्त भित्रै सबै बैंकहरुले साधारण सभा सम्पन्न गरिसक्नेछन् भने सेयरधनिहरुलाई लाभांश वितरण गर्नेछन् ।
हाल वित्तीय विवरण राष्ट्र बैंकमा पेश गरेका वाणिज्य बैंकहरुले भने कात्तिकभित्रै वार्षिक साधारण सभा सम्पन्न गरी लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछन् । वित्तीय विवरण पेश गरेका बैंकहरुको दशैअघि नै प्रारम्भिक स्वीकृत पाउने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
बैंकहरुले यस अघि नै वितरण योग्य नाफा सार्वजनिक गरिसकेका कारण सेयरधनिहरुले कति लाभांश पाउँछन् भन्ने जानकारी पाइसकेका छन् । सोहि आधारमा राष्ट्र बैंकमा वित्तीय विवरण पेश गरी स्वीकृतीका लागि पर्खिएका बैंकहरुमा हिमालयन बैंकले २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ सेयरधनीलाई लाभांश दिनेछ । यसैगरी, सानिमा बैंकले १ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ र सिटिजन्स बैंकले १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ लाभांश वितरण गर्नेछन् ।
यस्तै, माछापुच्छ्रे बैंकले १ अर्ब १३ करोड २७ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ लाभांश वितरण गर्नेछन् ।
बैंकहरुको वित्तीय विवरणलाई राष्ट्र बैंकले स्वीकृत गरेपनि सञ्चालक समितिले घोषणा गरेको लाभांशलाई पुनः मूल्यांकन गरी राष्ट्र बैकले स्वीकृत गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गर्न पाइनेछ ।





















प्रतिक्रिया