बुढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउन र रोकिएको मुअब्जा माग गर्दै आयोजना प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौं केन्द्रीत प्रदर्शन एवं धर्ना सुरु गरेका छन् । उनिहरुले माइतीघर मण्डलामा ‘डुवान बासीको चाहाना बुढीगण्डकी निर्माणको कामना’ नारा दिएर तत्काल आयोजना निर्माण कार्य अघि बढाउन र मुअब्जा माग गर्दै प्रदर्शन एवं धर्ना सुरु गरेका हुन् ।
आयोजना प्रभावित क्षेत्रका वासिन्दाले बुढीगण्डकीको नाममा राजनीति मात्रै भएको भन्दै स्थानीयको माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेपनि सम्बन्धित पक्षले कुनै वास्ता नगरेपछि दवाव स्वरुप धर्ना दिनुपरेको बताएका छन् । काठमाडौं केन्द्रीत प्रदर्शनमा बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका छन् ।
उनिहरुले कोरोना महामारीको नाममा दुई वर्षदेखि आयोजनामा कुनै पनि काम नभएको, आफूहरुको घर, गोठ, बोटविरुवाको मुआब्जा पनि नदिएको पुनर्बास, पुनस्थापनाका कामहरु नगरिएको कारण काठमाडौंमा नै आएर आन्दोलन गर्नुपरेको दुखेसो पोखे ।

डुवान क्षेत्रको जग्गा रोक्का गरी मुआब्जा वितरण पनि शुरु गरिसकेको अवस्थामा आयोजना लथालिंग छाड्दा डुवान क्षेत्रको वासिन्दा सुकुम्बासी हुने जोखिम बढेको बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताए । आयोजनाबाट न्युन मुआब्जा लिएका र डुवान क्षेत्रबाहिर बसोबासको बन्दोबस्त गर्न नसक्नेहरु अहिले बढी समस्यामा परेको उनले बताए ।
अहिलेसम्म घर, गोठ बोटविरुवाको मुआब्जा नदिएको, सुकुम्बासीलाई मापदण्ड बनाएर मुआब्जा दिने भनेर मन्त्रिपरिषदले निर्णय गरे पनि कार्यान्वयन नगरेको, दर्ता छुट भएका जग्गाको मुआब्जा नदिएकाले सडकमा आएको ढकालको भनाइ छ ।
बुढीगण्डकी आयोजना निर्माण कार्य तत्काल अघि बढाउन माग गर्दै स्थानियले गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पनि साथ दिएका छन् । उनि पनि प्रदर्शनकारीहरु सँगसँगै धर्नामा सहभगि भएका छन् ।




















प्रतिक्रिया