Logo

अर्थ

एसियन लाइफको नयाँ अफरः ‘सुनिश्चित आय जीवन बीमा योजना’



एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बजारमा नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले सर्वसाधारणलाई बीमाप्रति आकर्षित गराउन ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना‘ बजारमा ल्याएको हो ।

मंगलबार एक कार्यक्रमकाबीच कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठलगायतको उपस्थितिमा उक्त योजना सार्वजनिक गरिएको हो । बीमा योजनाको मुख्य विशेषता भनेको एक जना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्य रहेको छ ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरू जस्तैः दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गरअशक्त सुविधा र बीमाशुल्क छुट सुविधा थप गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यस योजनाको अवधि २४ वर्षसम्म भएता पनि बीमितले सुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क २५ हजार रुपैयाँ देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ ।

कार्यक्रममा कम्पनीका सञ्चालकहरू सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्युत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्ब ४८ करोड भन्दा बढी रहेको भने कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीहरूलाई बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हाल सम्म कम्पनीले २३ प्रकारका बीमालेखहरु बिक्रीमा ल्याइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार १७:२९   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।