नेपाल नागरिक उड्डयन प्राधिकरणमा राजकुमार क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ । अनिवार्य अवकास पाउने तयारीमा रहेका राजन पोखरेलले महानिर्देशक पदबाट मंगलबार राजिनामा दिएपछि क्षेत्रीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको हो ।
यसअघि क्षेत्री प्राधिकरणमा उपमहानिर्देशकको कार्यभार सम्हालिरहेका थिए । कार्यसम्पादन र बरिष्ठताको आधारमा मन्त्रालयले क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइन्छ ।
राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत थिए । उनीसँग एएनएस डिपार्टमेन्ट, इन्जिनियरिङ निर्देशनालय लगायतमा काम गरेको अनुभव पनि छ ।
त्रिभुवन विमानस्थलमा रहँदा राम्रो काम गरेको भन्दै विभिन्न संस्थाहरुले उनलाई सम्मानसमेत गरेका थिए । सरकारले अन्यथा निर्णय नगरे क्षेत्रीले नै महानिर्देशकको जिम्मेवारी पाउनेछन् ।





















प्रतिक्रिया