नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर बुधबार सम्पन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल र्याडिसनमा आयोजना गरेको मेला मार्च ८ देखी शुरु भएको थियो ।
व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार पुरस्कृत गरे । पुस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए । साना र घरेलु उद्योगहरूलाई प्रबर्द्धन गर्दै मुलुकलाई औद्योगिकरणको मार्गमा लैजान उनले व्यवसायीहरूलाई आग्रह गरे । “हामी उद्योगहरू र औद्योगिक क्षेत्रहरूलाई सुरक्षा उपलब्ध गराउन हरदम तयार छौँ”, उनले भने, “स्थानीय सीप र साधन प्रयोग गरी आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्न तपाईँहरू सफल हुने विश्वास लिएको छु ।”
मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए । “हामी महिला उद्यमी तथा व्यवसायीहरूले उत्पादन गर्ने सामग्रीहरूलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा छौँ”, अध्यक्ष श्रेष्ठले भने , “आउँदा दिनमा पनि चेम्बरले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछ ।”
प्रतिक्रिया