Logo

अर्थ

बैंकहरुले बढाएको ब्याजले बीमा कम्पनी लाभान्वित ! झण्डै ३ खर्ब मुद्दती निक्षेप



प्रचुर तरलता हुँदा मुद्दती निक्षेपमा न्युन ब्याजदर कायम गरेका बैंक तथा वित्तिय संस्थाले पछिल्लो एक महिनामा निक्षेप संकलन गर्न नसक्दा उच्च बिन्दुमा ब्याजदर बढाए । मुद्दती निक्षेपको ब्याजदर बढ्दा यसको प्रत्यक्ष प्रभाव बीमा क्षेत्रमा पर्ने देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बृद्धि गर्ने वित्तिकै ठूलो मात्रामा मुद्दती निक्षेप राखेका बीमा कम्पनीहरुले राम्रै आम्दानी गर्नेछन् ।

बैंकहरुको ब्याजदर बढेपनि जीवन बीमा कम्पनीहरुको आम्दानीमा तत्काल बृद्धि हुन केहि समय लाग्ने बीमा व्यवसायीहरुको तर्क छ । बीमा कम्पनीहरुले गत बर्ष मुद्दति निक्षेपमा राखेको रकममा अहिले बृद्धि भएको ब्याजदर लागु नभएपनि अब नविकरण हुने निक्षेपमा भने बढेको ब्याजदर पाउनेछन् ।

पुरानो निक्षेपमा बढेको ब्याजदर लागु नहुँदा खुसी हुनुपर्ने ठाउँ नरहेको एक बीमा कम्पनीका सिईओको तर्क छ । उनका अनुसार ब्याजदर बढ्यो भनेर तत्कालको लागि खुशी हुने ठाउँ छैन, गत वर्ष नै मुद्दतिमा राखेकाले उतिबेलाकै ब्याजदर अनुसार आम्दानी हुन्छ । तर अब नविकरण गर्ने निक्षेपमा एक वर्षसम्म ब्याजदर गणना हुँदा कम्पनीहरुले राम्रे आम्दानी गर्नेछन् ।

बीमा कम्पनीहरुको करिब ३ खर्ब निक्षेप बैंकहरुमा मुद्दति खाताको रुपमा रहेको छ । गत साउन भन्दा अघि बार्षिक ४ प्रतिशतसम्म पुगेको ब्याजदर अहिले झण्डै दोब्बर अंकले बृद्धि भएपछि बीमा कम्पनीहरुमा खुसीयाली छाएको छ । निक्षेपका आधारमा ब्याजदर बृद्धि हुँदा जीवन बीमा कम्पनीहरु सबैभन्दा धेरै लाभान्वित हुने बीमा विशेषज्ञहरुले बताएका छन् ।

नेपालका बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप मध्ये झण्डै १० प्रतिशत बीमा कम्पनीहरुका कोष हुन् । जीवन बीमा कम्पनीहरुको कोषमा ४ खर्बभन्दा ठूलो कोष रहेको छ । सो मध्ये अधिकांश लगानी मुद्दति निक्षेपमा राखिएको छ ।

बैंकहरुले नेपाल राष्ट्र बैंकबाट दैनिक अर्बौ रुपैयाँ निक्षेप सापटी लिइरहेका कारण ब्याजदर अझै बढ्ने देखिएको छ । केन्द्रीय बैंकले ब्याजदर धेरै बृद्धि नगर्न बैंकहरुलाई चेतावनी दिएपनि तरलता अभावमा ब्याजदर बृद्धि हुने क्रम नरोकिने देखिएको छ ।

अब परिपक्व भई नविकरण गर्नुपर्ने मुद्दति निक्षेपहरुमा भने बीमा कम्पनीहरुलाई फाइदा हुनेछ । ब्याजदर बृद्धि हुँदैमा तत्काल जीवन बीमा कम्पनीहरुको बोनसमा कुनै परिवर्तन हुँदैन । बरु गत वर्ष ब्याजदर उच्च अंकले घटेकोले तत्कालको लागि केही घट्न सक्नेछ । हाल ब्याजदरमा आएको परितर्वनले आगामी वर्षमा राम्रै फाईदा पुग्ने बीमा कम्पनीका संचालकहरुले विश्वास लिएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १७:५९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।