Logo

टिप्पणी

सुख बेचेर, दुख किन्नेहरु 



केपी ओली, माधव नेपाल र झलनाथ खनाल नेपाल कम्युनिष्ट पार्टीको हेडसर भएका व्यक्तित्व हुन् । यिनीहरुको संघर्ष गाथा समान छ । राजनीतिक गुरु एउटै हुन । गुरुले कानमा फुस्फुसाएको मन्त्र पनि समान हो । माघको जाडोमा कार्यकर्तालाई आईसक्रिम बेच्न पठाएर आफू तातो कफी चुस्की लाएर बस्ने कलामा तीनैजना पोख्त छन् । मनमा एउटा, बोलीमा अर्को र व्यवहारमा झन् फरक खाले कला देखाउन कोहीभन्दा कोही कम छैनन । देशभन्दा ठूलो पार्टी, पार्टीभन्दा शक्तिशाली गुट भन्ने निष्कर्षलाई यी तिनैले आफ्नो जीवनको मार्गनिर्देशक सिद्धान्त बनाएका छन् । कम्युनिष्ट नामको खरानी धसेपनि त्यसखाले आचरण ओली, खनाल र नेपालमा शून्य छ ।
 
४० को दशकयता उदाएका यी तीन नेता समवयी हुन् । फोटोमा जस्तै यिनीहरुको पारस्परिक सम्बन्ध पनि धून बिग्रिएको बाजा जस्तै बन्यो । मदन भण्डारी बाँचेका हुन्थे भने एमालेभित्र यिनीहरुको हैसियत दोस्रो तहमा सीमित हुने पक्का थियो । विचार दिने साहस कसैमा छैन । कुशल संगठन गर्ने क्षमतामा कोही अब्बल छैनन । बौद्धिकता मृगतृष्णाजस्तै हो । काकताली परेर माधव, झलनाथ सरकार प्रमुख भए । खनाल र नेपाल प्रधानमन्त्री भए भन्दा पनि उनीहरुलाई प्रधानमन्त्री बनाउने गिरिजाप्रसाद कोइराला र प्रचण्डको बढी चर्चा भयो । प्रचण्डसंगको पार्टीगत सहकार्यले प्रधानमन्त्रीको जागिर दोहोर्याउन केपीलाई सहज भयो । एमालेभित्रको शक्तिसंघर्षले अब कुन मोड लिन्छ भन्न सक्ने अवस्था छैन ।

नालायकलाई चेपेर लायक बनाउन केपी ओली खप्पीस छन । आफ्नो अनुकूल नहुनेलाई पानीमुनि पुर्याउँदा पनि यिनको धित मर्दैन । पदमा पुगेपछि आफ्नो हिँडाई, बोलाई र चलाईलाई विधि विधान भन्न भनाउन पछि नपर्ने शैलीले पनि ओलीभित्र सामन्त र निरंकुश अवशेष कति बाँकी छ भन्ने स्पष्ट हुन्छ । सर्वोच्चले एमाले ब्यूँताउनासाथ उनले ७० वर्षमाथि सक्रिय जीवनबाट विश्राम लिने पार्टी विधान सच्याएर असीमित बनाए । यो सक्रियता यसकारण थियो कि भर्खरै उनले जीवनको ७० औं जन्मोत्सव मनाएका थिए । केपीले आफ्नो जीवनमा गिरिजाप्रसाद कोइरालाको शैली अपनाउने कोशिस गरेको देखिन्छ । नेपालको राजनीतिक इतिहासमा कोइरालाका दुईवटा अवतार छन । एउटा दम्भी, प्रतिशोधी, गुट शिरोमणि अर्को शान्तिप्रक्रियालाई गन्तव्यमा पुर्याउने एउटा परिपक्व र सफल राजनीतिक शिल्पी गिरिजाप्रसाद । केपी ओलीले भाग एक जीपीलाई आदर्श मानेका छन् । ड्रेसअपदेखि कार्यशैली हुबहु उही शैलीको छ । गुटको पक्षपोषण त सतप्रतिशतभन्दा माथि छ । आलोचना फिटिक्कै नरुचाउने केपीका बारेमा पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले लेखेको आत्मबृतान्तमा पनि केही छनक पाइन्छ । 

‘केपी कतिसम्म सोखिन थिए भने हामी बिँडी भएपनि रमाएर पिउँथ्यौं । तर उनी बिँडी देख्नासाथै मुन्टो बटार्थे । चुरोट पाए मात्र पिउँथे । आफ्नो पारिवारिक आर्थिक अवस्था , परिवेश विपरित थियो, उनको जीवनशैली । लाग्थ्यो, केपी जन्मजातै राजसी छाँटका व्यक्ति हुन् । खाना खानुअघि चुरोटको कस मात्रै पाए पनि उनी दुई तीन गाँस बढी खान्थे । केपीको यही सोख पूरा गर्न हामीले दिनको दुई खिली चुरोट ल्याइदिने व्यवस्था गराएका थियौं ।’ आरके थप्छन्– ‘त्यतिबेला गैंडा नामको चुरोट चल्तीमा थियो । उनी त्यो चुरोट विहान खानाअघि र बेलुका खानापछि मज्जाले पिउँथे । म अहिले पनि सम्झन्छु , केपीलाई जेलमा अलिकति खुशी बनाउनुपर्यो भने एक खिली चुरोट दिनुपथ्र्यो । अनिमात्र खिसिक्क हाँस्थे । नत्र सधैं पानी पर्न लागेको बादलजस्तै धुम्म अनुहार बनाएर बस्थे ।’ 

माधव नेपालको रसायन सीपी मैनाली र झलनाथ खनाल महासचिव हुँदा राम्रैसंग जमेको देखिन्छ । शायद पार्टीको आयतन सीमित भएका कारण पनि यस्तो भएको हुनसक्छ । तर मदन भण्डारी महासचिव भएपछि भने दुईबीच सम्बन्ध त्यति विधि सुमधुर लाग्दैन । सहकर्मी भन्छन– माधव आत्मकेन्द्रित छन् । शंकालु छन् । सानो कुरामा आतिने र मातिने प्रवृत्ति छ । यद्यपी समयका भने पक्का छन् । आरके मैनाली संस्मरणमा माधव नेपाललाई पनि अटाएका छन् । उनी भन्छन– ‘२०४८ सालमा मनमोहन अधिकारी तल्लो सदन प्रतिनिधिसभाका  नेता थिए भने माधव नेपाल माथिल्लो सदन राष्ट्रियसभाको । तल्लो सदनका मनमोहनसरह सुविधा नपाएपछि माधवले एक वर्षसम्म पारिश्रमिक लिएनन् । माधवको चित्त बुझाउन धेरैचोटि बैठक बस्यो । पार्टीमा विवाद जन्मियो । तर माधवले तनखा बुझ्नै मानेनन् । तल्लो सदनभन्दा माथिल्लो सदनका नेताले एक सय रुपियाँ मात्र कम पाउने गरी ऐन संशोधन गरेपछि मात्रै माधवले एक वर्षको एकमुष्ठ तलब सुविधा बुझे । एक वर्षसम्म माधवलाई खर्चबर्च पार्टीले जुटाइदिएको थियो । म त्यतिबेला पार्टीको आर्थिक विभागमा थिएँ । मैले माधवले तलव सुविधा बुझेपछि पार्टीले गरिदिएको खर्च फिर्ता हुनुपर्ने कुरा उठाएँ । मदनले मेरो कुरा सही ठहर्याएका थिए । त्यसको केही दिनपछि मदन देशव्यापी भ्रमणमा निस्किए । फर्किएपछि निर्णय गराउने बचन दिएका थिए । तर यसैबीचमा मदन दासढुंगा काण्डमा पारिए । माधवले पार्टीका तर्फबाट भएको खर्च फिर्ता गरेनन् ।’

झलनाथ खनाल राम्रो लाउने र मीठो खाने नेताभित्र पर्छन् । उनको समय भूमिगत कम्युनिष्ट पार्टीको मुखियाका रुपमा वितेकाले उच्च स्मरणीय कुनै काम भएको हेक्का रहेन । तीन दशकअघि बहुदल आएलगत्तको अन्तरिम सरकारमा खनाल मन्त्री भए । तीनदशकको खुल्ला राजनीतिक माहोलमा उनीभित्र न हाँसको चाल देखियो, न बकुल्लाकै । बरु राजनीतिक दर्शनमा काँचा ठहरिए । संगठनमा समेत मजबुत पकड देखिएन । प्रधानमन्त्रीको कार्यकाल पनि टाइँटाइँ फिसजस्तै भयो । बरु जीवनको उत्तराद्र्धमा आफ्नो नाममा संस्था खोलेर सर्पका नाममा आर्थिक उपार्जन गर्न खोजेको आरोप लाग्यो । त्यो आरोपको प्रतिवाद गर्ने पत्यारलाग्दो अस्त्र नपाएर अझै उनी रनभूल्लमा छन् । झलनाथ खनाल अब राष्ट्रपति बन्न चाहन्छन् । नेपालमा राष्ट्राध्यक्ष अन्तर्राष्ट्रिय स्तरको डिलक्स होटल  र स्वास्थ्यशाला हो । सक्रिय पनि हुन नपर्ने, औषधोपचार, खानपान, रेखदेख सबै राज्यको दायित्वभित्र पर्ने भएकाले उत्तराद्र्धमा पुगेका राजनीतिज्ञहरु लोभिने पद राष्ट्रपति भएको छ । प्रचण्ड र माधवको तप्कामा झलनाथ लस्किनुको मनोविज्ञान पनि यही नै हो । प्रचण्डसंग साथ टुटेपछि खनालका लागि नेपालसंगको सहयात्रा अन्तिम विकल्प हो ।  

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार १९:४१   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।