चाडपर्व र मुक्तिनाथ दर्शनलाई ध्यानमा राखेर तारा एयरले पोखरा–जोमसोम नियमित हवाई उडान सुचारु गर्ने भएको छ । जोमसोम जान चाहने यात्रुलाई लक्षितगरी पोखराबाट यति एयरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ गतेदेखि नियमित उडान सुचारु गर्ने भएको हो ।
नेपालमा कोरोना संक्रमण देखिएसँगै बन्द रहेको धार्मिकस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एयरले पनि आफ्नो उडानलाई सुचारु गर्न लागेको जनाएको छ । चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको कम्पनीका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार तारा एयरको १९ सिटे विमानले उडान गर्नेछ ।
ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर विगतमा दैनिक पाँच वटासम्म उडान गर्ने गरेको बर्तौलाले बताए । जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायुसेवाहरुले विहान १२ बजे भित्रनै उडानहरु भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायुसेवामध्ये ताराले पोखरा, नेपालगञ्ज र काठमाडौंमा नियमित वायुयान राखेर दुर्गममा सेवा दिँदै आएको छ ।
ताराले आफुसँग भएको ४ वटा टुइनअटर जहाजले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरालगायत दुर्गमका विमानस्थलमा नियमित तथा चार्टर उडान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया