Logo

घरघरमा खानेपानीका धारा



कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीको बस्तीलाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । पिलीलाई कर्णाली प्रदेशकै दोस्रो सुरक्षित खानेपानी वडा घोषणा गरिएको छ । ‘फनबोर्ड’, ‘युनिसेफ’ र नगरपालिकाको सहयोग तथा मानवअधिकार तथा वातावरण विकास केन्द्र ‘हुरेन्डेक’ कालीकोटको प्राविधिक सहयोगमा पिलीका दुईवटा खानेपानी योजना सम्पन्न भएपछि बस्तीमा सुरक्षित खानेपानी आपूर्ति हुँदै आएकाले सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो । 

सुरक्षित खानेपानीयुक्त घोषणा भएको यो वडा कर्णाली प्रदेशको दोस्रो वडा हो । यसभन्दा अघि सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा वडालाई सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको थियो ।

‘मेजरपाखा खानेपानी आयोजना’ र ‘भेराखोला खानेपानी आयोजना’ सम्पन्न भएपश्चात पिलीका १७५ घरधुरीमा सुरक्षित मिटरसहितका खानेपानीका धारा, जडान गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ । पिलीका बासिन्दाले खानेपानीको अभाव झेल्नु नपर्ने वडाध्यक्ष रजबहादुर मल्लले बताएका छन्  । “धेरै चुनौतीबीच सुरक्षित पानी प्राप्त गर्ने अवस्था आएको छ”, उनले भने , “खानेपानीको समस्या भएको ठाउँमा सुरक्षित तरिकाले स्थानीयवासीलाई खानेपानी पु¥याउनु ठूलो उपलब्धि हो ।”

स्थानीय सरकार र लगानीकर्ताको मनदेखिको सहकार्यले खानेपानीको समस्या हल गरिएको नगर प्रमुख जसीप्रसाद पाण्डेले बताए। “दुईवटा खानेपानीका आयोजना सम्पन्न गर्न रु ७१ लाख ५० हजार खर्च भएको छ”, उनले भने , “यसअघि पिलीमा एक घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।” गाउँमा खानेपानीको समस्या हुँदा टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता अहिले हटेको र घरघरमै धाराको पानी प्रयोग गर्न पाएको स्थानीयवासी रामबहादुर कार्कीले बताएका छन् । 

प्रकाशित मिति : १ चैत्र २०७७, आईतवार १४:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।