Logo

स्वास्थ्य

लुम्बिनीमा बलियो नेपालद्धारा बालबालिकालाई पोषण राहत कार्यक्रम सञ्चालन



बलियो नेपाल न्यूट्रिशन इनिसिएटिभले लुम्बिनी प्रदेशका सात स्थानीय तहमा कोभिड–१९ महामारीका कारण ६–२३ माहिनाका बालबालिकाहरुमा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सञ्चालन भएको छ ।

बलियो नेपालले सो कार्यक्रम प्युठानका गौमुखी र ऐरावती गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रेसुंगा नगरपालिका, नवरपरासीको पाल्हिनन्दन गाउँपालिका र सुनवल नगरपालिका र रुपन्देहीको देवदह नगरपालिकामा सञ्चालन गरेको छ ।

यसअन्तर्गत दुई महिनाको अवधिमा उच्च खाद्य जोखिम भएका १० हजार बालबालिकाहरुलाई पोषणयुक्त लिटो र माल्टोजिङ उपलब्ध गराइएको छ । खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम २०७८ श्रावण २४ गतेदेखि सञ्चालन भएको थियो । तराईका स्थानीय तहहरुमा पोषण वितरण कार्यक्रम गत महिना नै सम्पन्न भइसकेको नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले बताए ।

कोरोनाभाइरस महामारी र बाढीपहिरोका कारण पहाडी जिल्लाहरुका स्थानीय तहमा लिटो र माल्टोजिङ जनप्रतिनिधिलाई हस्तान्तरण गरी स्थानीय तहले बालबालिकाहरुका अभिभावकहरुलाई वितरण गरिएको बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले बताएका छन् ।

यसअन्तर्गत ६ देखि २३ महिनाका बालिबालिकाहरुलाई ४० दिनलाई पुग्ने दुई बट्टा माल्टोजिङ र २० दिनलाई पुग्ने २५ ग्रामका २० प्याकेट लिटो उपलब्ध गराइएको बताए । यसले बालिबालिकाहरुलाई आवश्यक पर्ने दिनभरीको ३० प्रतिशत पोषणको आवश्यकता पूर्ति गर्ने डा. उपाध्यायले जानकारी दिए । थप आवश्यक पोषण आमाको दूधका साथै घरमा उपलब्ध खानाहरु जस्तै अण्डा, माछामासु, तथा सागसब्जीहरुबाट प्राप्त हुने बताएका छन् ।

कार्यक्रममा उच्च खाद्य तथा पोषण असुरक्षा भएका स्थानीय तहहरुको छनौट गरी १० हजार बालबालिकालाई पोषणयुक्त खाना वितरण गरिएको हो । पोषण वितरण कार्यक्रम कोभिड–१९ का सुरक्षाका आवश्यक मापदण्ड पालना गर्दै स्थानीय जनप्रतिनिधि, बलियो नेपालका सदस्य, निजीक्षेत्रका साझेदार तथा स्वास्थ्य संयोजकहरुको उपस्थितिमा भएको थियो ।

कोरोनाभाइरसको महामारीका कारण उच्च खाद्य तथा पोषण असुरक्षा भएका बालबालिकाहरुलाई सहयोग गर्नका लागि सञ्चालन गरिएको यो कार्यक्रमले बालबालिकाहहरुमा देखिने शिघ्र कुपोषण रोकथाम गर्न मद्दत गर्ने लक्ष्य लिएको थियो । खासगरी महामारीका कारण आफ्नो आय गुमाएका परिवारहरुलाई यस कार्यक्रमले विशेषरुपमा सहयोग गरेको बताए ।

पोषण वितरण कार्यक्रमका लागि बलियो नेपालले सम्बन्धित स्थानीय तहका सरकार, र निजीक्षेत्रका साझेदार नेपाल बंगलादेश बैंक लि, प्रुडेन्सियल इन्स्योरेन्स क. लि. र वसन्त चौधरी फाउण्डेशनसँग सहकार्य गरेको छ । बलियो नेपाल न्यूट्रिशन इनिसिएटिभले आगामी दिनहरुमा पनि स्थानीय सरकाहरुसँग सहकार्य गरेर खाद्य तथा पोषणका कार्यक्रमहरुलाई थप विस्तार गर्दै लैजाने डा. उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १२:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।