Logo

विचार / ब्लग

‘क्रान्तिमा होमिएको योद्धाको दसैँ : मनमा कि वनमा ’



जनयुद्ध ताका दसैँ मनाउन धेरै अफ्ठेराहरू थिए । क्रान्तिको मैदानमा होमिएको हुँदा दसैँ मनाउन घर फर्किंदा धेरै असुरक्षित हुन्थ्यौँ । एउटा क्रान्तिकारी योद्धाको दसैँ कि मन हुन्थ्यो कि त वनमा मात्र हुन्थ्यो । भूमिगत जीवन, चारैतिरबाट सुरक्षाका चुनौती र परिवारसँग जाँदा झनै दुस्मनको कब्जामा पर्ने र मृत्युसमेत हुन सक्ने हुँदा युद्ध कालको दसैँ हाम्रो लागी धराप जस्तै लाग्थ्यो । आफन्त र परिवारलाई सम्झँदै युद्ध मोर्चामा खटिनुको विकल्प थिएन । कयौँ साथीहरू दसैँमा घर जाँदा मृत्यु भएको तथ्य हाम्रो अगाडि साक्षी थियो । त्यस कारण मन भरी चाड पर्वको रौनक खेल्दासमेत धित मर्ने गरी दसैँ मनाउन र मान्न सकिएन । 

विगत सम्झँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कार्यालय सचिव डोरप्रसाद उपाध्याय (निर्मल कुमार)ले बेलिविस्तार लगाए । उनी माओवादी जनयुद्ध सुरु भएदेखि भूमिगत भएका थिए । फागुन २०५२ मा भूमिगत भएका निर्मलले वैशाखमा सबैभन्दा माया गर्ने आमा गुमाए । १० वर्षे युद्ध कालमा उनको दसैँ वनवासमा बितेको थियो । तर, एक पटक भने आफ्ना साथी प्रकाशको घरमा दसैँ मनाउने योजना बनाएका थिए । गुल्मीको पुर्कोटमाथि अर्खावाङको जङ्गलमा सेल्टर थियो । उनको प्रकाश कमरेडको घर गुल्मी भएको हुँदा घरमा गई दसैँ मनाउने योजना थियो ।  

‘हामी आउँदै गरेको खबर सेनाले थाहा पाएको रैछ । समाउने योजनामा त्यो क्षेत्रलाई घेराबन्दी समेत गरेको रैछ । गुल्मीमा पार्टीको लागि धेरै काम गरेको हुँदा धेरै जनताले चिनेका थिए । प्रकाश कमरेडको घर पुग्नु आधा घण्टा बाँकी हुँदा वनमा घाँस काट्न लागेकी एक महिलाले हस्याङ फस्याङ गरी आउँदै हामीलाई रोकिन् । सेनाले घेरेको कुरा सुनाएपछि हामी तत्काल भागेका थियाँै’, घटना सुनाउँदै निर्मलले भने, ‘त्यो सूचना नपाएको भए हामी सायद सहिद भएका हुन्थ्यौ होला ।’

उनी भन्छन्, ‘चाडपर्वहरूको बारेमा कम्युनिस्टप्रति केही भ्रमहरू छरिएका छन् । खास गरी कम्युनिष्टहरुले धर्म चाडपर्व केही मान्दैनन् । यिनीहरू नास्तिक हुन्छन् भन्ने जस्ता कुरा गरेर कम्युनिस्टलाई अधार्मिक रूपमा चित्रण गर्न खोजिएको छ । तर वास्तवमा त्यो कुरामा सत्यता छैन । कम्युनिस्ट भौतिकवादमा विश्वास गर्छन् । यो कुरा सही हो । उनीहरूले सबै धर्म र चाडपर्वलाई समान हैसियतमा राख्ने गरेका छन् । हरेक व्यक्ति आफ्नो धर्म मान्न स्वतन्त्र हुन्छ भन्ने मान्यता राख्ने कम्नियुष्टहरु माथि लगाइएका आरोप सही होइनन् भन्ने नै पुष्टि हुन्छ ।’

युद्ध कालमा दसैँ मनाउन नसकिए पनि उनी शान्ति प्रक्रियापछि परिवारसँगै बसेर दसँै मनाउने गरेका छन् । कपिलवस्तु नगरपालिका–९ कुस्मामा बस्दै आएका दाजुको हातबाट टीका लगाई दसैँ मनाउँदै आएका छन् । दसैँले समाज घर परिवार आफन्तलाई जोड्ने भएको हुँदा युद्धकालमा जस्तो नभई दसैँ मनाउनु पर्छ भन्ने मानसिकता बसेको छ । 

उनी भन्छन्, ‘केही अपवादबाहेक आजकल कम्युनिस्टहरू दसैँ मनाउने क्रममा आममानिसभन्दा पनि बढी ढोङ गरिरहेका छन् । धर्म, रीतिरिवाज, रुढीवाद र परम्परा फरकफरक कुरा हुन् । अन्ध विश्वास र रुढीवादलाई छाडेर पर्व मनाउनु सामाजिक मर्यादा का हिसाबले सही हो भने रुढीवाद, अन्धविश्वास र कुरीतिलाई अँगाल्नु गलत हो । हिजो पनि आवश्यकभन्दा बढी उत्ताउलो बन्ने र आज पनि सबैभन्दा बढी उत्ताउलो बनेर भौतिकवादी विज्ञानलाई गिज्याउने प्रवृत्तिले कम्युनिस्टहरुको वास्तविक पहिचान मेटिने पो हो कि भन्ने डर बढेर गएको छ ।’

प्रकाशित : २७ आश्विन २०७८, बुधबार