काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले पहिलो जित हात पारेको छ ।
शनिबार पानी परेपछि ५ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिम रोएल्सलाई ३५ रनले हराउँदै विराटनगरले ३ खेलमा बल्ल अंकको खाता खोलेको हो ।
५ ओभरमा १०६ रन बनाउनुपर्ने ठूलो लक्ष्य पाएको सुदूरपश्चिमले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।
विराटनगरको जीतमा आन्द्रे रसेलले अलराउन्ड प्रदर्शन गरे । उनले अविजित २९ रन बनाए भने १ विकेट पनि लिए । उनले २ ओभरमा मात्र ८ रन खर्चिए । प्लेअर अफ दी म्याच समेत बनेका उनले एक क्याच पनि लिएका थिए ।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए । ओपनर सैफ जैबले १७ रन बनाए भने आरिफ शेख पनि १७ रनमा अविजित रहे । विराटनगरका एन्जेलो म्याथुजले थप एक विकेट लिए ।
ठूलो लक्ष्य पाएको सुदुरपश्चिमले पहिलो बलमा नै सेरफन रदरफोर्डलाई गुमाएको थियो । कप्तान दीपेन्द्र सिंह ऐरीले पनि आवश्यकता अनुसार प्रदर्शन गर्न नसके पछि सुदूरपश्चिम ७ रनमा २ विकेट गुमाएको खराब अवस्थामा पुगेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो । विराटनगरका ओपनर शेहान जयासूर्याले ११ बलमा ३९ रन बनाए, यस्तै रसेलले १० बलमा अविजित २९ रन बनाए भने लोकेश बमले १० बलमा २५ रनको योगदान गरेका थिए । विराटनगरले पहिलो ओभरमा ३५ रन जोड्दै आक्रामक शुरुवात गरेको थियो ।
पानी परेपछि शनिकारको पहिलो खेलका रुपमा तय भएको लुम्बिनी र चितवनको खेल रद्द भएपछि दुबै टोलीले अंक बाँडेका थिए ।
दोस्रो खेल पनि हुने नहुने अनिश्चितताका बिच ५ ओभरमा छोट्याइएको थियो । साँझ ७ः४० मा शुरु गर्ने बताइएको खेल करिब डेढ घण्टा पछि मात्र शुरु भएको थियो । यसले गर्दा, खेल हेर्न मैदान पुगेका हजारौँ दर्शकले लामो समय पर्खनुपरेको थियो ।



















प्रतिक्रिया