Logo

कर्पोरेट फोकस

यति एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति



नेपाली हवाई क्षेत्रमा ख्याती कमाएको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति (एओसी) पाएको छ । एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ननसेड्यूल तथा चार्टर्ड उडान भर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको हो ।

प्राधिकरणबाट बिहीबार मात्रै अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उडान अनुमति पाएसँगै एयरलाइन्सले अब दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाली मुलुकमा उडान गर्ने कम्पनीले जनाएको छ । यति अब अन्तर्राष्ट्रिय उडानमा तयार रहेको जानकारी दिंदै बर्तौलाले चार्टर्ड र ननसेड्यूल उडानमा एयरलाइन्सले सेवा दिने बताए ।

हाल कम्पनीसँग एटीआर ७२ जहाजहरु रहेका छन् । यी जहाजसँग छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

यतिले अन्तराष्ट्रिय उडान अनुमति पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्ससँग यसअघि नै अन्तर्राष्ट्रिय उडान अनुमति रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : ५६ बजे