बागमती प्रदेशमा यसअघि नेकपा (एमाले)को नेतृत्वमा भएको सरकारले गरेका निर्णयहरु खारेज हुने भएका छन् । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ लगत्तै डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य नेतृत्व अघिल्लो सरकारले गरेका निर्णय खारेज हुने जानकारी दिएका हुन् ।
शपथ ग्रहणपछि प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिँदै गर्दा पाण्डेले तत्कालीन मुख्यमन्त्री पौडेलभन्दा शाक्य नेतृत्वको सरकार ले बढी गलत निर्णय गरेको बताए । अल्पमतमा परेको सरकारले दीर्घकालीन महत्वका निर्णय गरेकाले त्यस्ता निर्णय खारेज हुने भनाई मुख्यमन्त्री पाण्डेको रहेको छ ।
यसका साथै मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकाल भ्रष्टाचाररहित हुने दाबी गरे । भ्रष्टाचारमुक्त बाग्मती प्रदेश बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै मुख्यमन्त्री पाण्डेको भनाइले यस प्रदेशमा नयाँ बजेट आउने संकेत समेत गरेको छ । श्रमजीवी, मजदुर र सर्वहारा जनताको पक्षमा प्रदेश सरकारले नयाँ बजेट ल्याउने पाण्डेको भनाइ छ ।
नेपाली कांग्रेसले सरकारको नेतृत्व आलोपालो गर्ने बताएको भएतापनि मुख्यमन्त्री पाण्डेले भने आफू पुरा कार्यकालको मुख्यमन्त्री बनेको तर गठबन्धनले गर्ने कुनै पनि निर्णय मान्न आफू तयार रहेको बताए । गठबन्धनको केन्द्रको निर्णय बमोजिम आफू मुख्यमन्त्री भएको बताउँदै उनले गठबन्धनले गरेको निर्णय अनुसार आफू नेतृत्वको सरकार अगाडि बढ्ने बताए ।
प्रदेश प्रमुखको कार्यालयबाट पदबहालीका लागि उहाँ भर्खरै मुख्यमन्त्री कार्यालयतर्फ लाग्नुभएको छ ।





















प्रतिक्रिया