Logo

अर्थ

गोल्डस्टार विश्वबजारमा प्रवेश, अमेरिकामा नयाँ आउटलेट संचालन



नेपाली बजारमा ख्याति कमाएको गोल्डस्टार जुत्ताले विश्वबजारमा प्रवेश गरेको छ । बच्चादेखि बृद्धसम्म लोकप्रिय रहेको गोल्डस्टार जुत्ताले संयुक्त राज्य अमेरिका नयाँ आउटलेट संचालनमा ल्याएसँगै विश्वबजारमा प्रवेश पाएको हो ।

नेपाली ब्राण्डलाई विश्वबजारमा चिनाउन अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा गोल्डस्टारको आउटलेट खुलिएको कम्पनीले जनाएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले अमेरिकामा हालैमात्र आधिकारिक वितरक नियुक्त गरी बिक्री–वितरण सुरू गर्ने जनाएको छ ।

न्यूयोर्कस्थित गोल्डस्टारको नयाँ आटलेट उद्घाटन गर्दै कम्पनीका अध्यक्ष आमिरप्रताप जबराले गोल्डस्टार जुत्ता अब संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे । कार्यक्रममा बोल्दै राणाले भने, ‘हामी संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा अग्लो स्थानमा बनेका डिजाइनहरू ल्याउने कुरामा गर्व गर्दछौं ।’

सो कार्यक्रममा ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष तथा सीईओ ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

नेपालमा किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको उत्पादन थालेको हो । पछिल्लो पटक विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको छ ।

हाल कम्पनीले उपभोक्ताहरुको आर्थिक अवस्था र बजारको माग अनुरुप किफायती मूल्यमा जुत्ता उत्पादन तथा बिक्रीवितरण गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार १२:४३   :  बजे

447
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।