जीवन कसरी चल्छ भन्ने कुरा जीवनको उत्तरार्धमा पुगेपछि केहीले पत्तो लगाउँछन् । केहीले पूवार्धमा नै आफ्नो जीवनको खाका तयार पार्छन् । तर कतिले भने “म को हुँ” भन्ने खोज्दाखोज्दै जीवनको लीला समाप्त गर्दछन् ।
जीवन के हो र कसो हो भन्दैमा बित्ने गर्छ भने जीवन के होइन भन्ने कुरा केलाउँदै जीवन बिताउनेको सङ्ख्या त्यस्तै न्यून नै छ यहाँ । आफ्नो जीवनकालमा गरेको कार्यले कुन सीमासम्म आफूलाई चिनाउँछ भन्ने कुरा मुख्य रहन्छ । आफूले गरेको कार्यले आफू जीवित रहँदै समाजमा परिचित बनाएको र मृत्युपश्चात् चिनाएको प्रशस्त उदाहरणहरू यो समाजमा छरिएर रहेका छन् ।
आफ्नो जीवनकालमा नै आफूले गरेको कार्यबाट परिचित अनुहारमध्येको एक नाम हो आम्बेडकर । आज हामी उनैको जीवन लयको केही धारहरूलाई सूक्ष्म तवरले केलाउने प्रयास गर्नेछौँ । सन् १८९१ अप्रिल १४ मा ब्रिटिस भारतको मध्य भारत प्रान्त (वर्तमान मध्य प्रदेश) मा अवस्थित महू नगरको सैन्य छाउनीमा जन्मेका आम्बेडकरको वास्तविक नाम भीमराव रामजी आम्बेडकर हो ।
उनी एक भारतीय बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारक भनेर चिनिन्छन् उनले नवबौद्ध आन्दोलनलाई प्रेरणा दिनका साथै दलित जातिका मानिसलाई गरिने भेदभावको विरोधमा अभियान चलाएका थिए । उनी स्वतन्त्र भारतका प्रथम कानुन एवम् न्याय मन्त्री, भारतीय संविधानका जनक एवम् भारत गणराज्यका निर्माता थिए ।
उनी रामजी सकपाल र भीमबाई सकपालका चौधौँ तथा अन्तिम सन्तान थिए । उनी वर्तमान महाराष्ट्रको रत्नागिरी जिल्लाको आम्बडवेमा बसोबास गर्ने कबीर पन्थको अनुसरण गर्ने मराठी मूलको परिवारको सदस्य थिए । तत्काल अछुत मानिने हिन्दु महार भएको हुनाले उनले र उनको परिवारले सामाजिक र आर्थिक भेदभावको सहन गर्नुपरेको थियो । आम्बेडकरका पुर्खा केही पुस्तादेखि इस्ट इन्डिया कम्पनीको सेनामा कार्यरत थिए र उनका पिता पनि भारतीय सशस्त्र सेनाको महू छाउनीमा सेवारत सुबेदार थिए । उनले मराठी र अङ्ग्रेजीमा औपचारिक शिक्षा प्राप्त गरेका थिए ।
आफ्नो जातिको कारणले आम्बेडकरले सानैदेखि सामाजिक प्रतिरोध सहनुपरेको थियो । उनी विद्यालयको शिक्षामा सक्षम भएपनि उनले छुवाछुतको कारण थप चुनौतीको सामना गर्नुपरेको थियो । सन् १८९८ मा आम्बेडकरका पिताले जिजाबाईसँग पुनर्विवाह गरे ।
७ नोभेम्बर १९०० मा उनलाई सातारामा अवस्थित सरकारी उच्च माध्यमिक विद्यालयमा उनको बाल्यकालको नाम भिवा रामजी आम्बडवेकरको नाममा भर्ना गराइदिए । कोकण विभागमा गाउँको नामसँग सम्बन्धित उपनाम राखिने हुनाले उनको उपनाम पनि आम्बडवेको नाममा आम्बडवेकर राखिएको थियो । पछि आम्बेडकरलाई पढाउने र माया गर्ने ब्राह्मण शिक्षकले उनको उपनामलाई “आम्बडवेकर” बाट “आम्बेडकर” बनाइदिए । त्यसबेलादेखि उनले आफैँलाई आम्बेडकर भनी परिचय गराउन थाले ।
त्यसो त आम्बेडकर विपुल प्रतिभाका छात्र थिए । उनले कोलम्बिया विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्स, दुबैबाट नै अर्थशास्त्रमा विद्यावारिधिको उपलब्धि प्राप्त गर्नुका साथै कानुन, अर्थशास्त्र र राजनीति विज्ञानमा शोध कार्य पनि गरेका थिए । पेसागत जीवनको प्रारम्भिक भागमा अर्थशास्त्रका प्राध्यापक र वकालतमा लागेका आम्बेडकर पछि राजनीतिमा सक्रिय भए ।
उनले भारतको स्वतन्त्रताको प्रचारप्रसार तथा चर्चामा सहभागी हुँदै पत्रिकामा लेख प्रकाशन, राजनीतिक अधिकारहरूको वकालत र दलित समुदायको सामाजिक स्वतन्त्रका लागि आवाज उठाई स्वतन्त्र भारतको पुनर्निर्माण तथा विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
आम्बेडकर ज्ञानका भण्डार थिए । उनलाई अङ्ग्रेजी, हिन्दी, मराठी, पाली, संस्कृत, गुजराती, जर्मन, फारसी, फ्रान्सेली तथा बङ्गाली भाषाको राम्रो स्तरको ज्ञान थियो । उनले अन्य भारतीय राजनीतिज्ञहरूको तुलनामा सबैभन्दा बढी लेख लेखेका छन् । सामाजिक सङ्घर्षमा सक्रिय र व्यस्त भएपनि उनले विभिन्न किताबहरू, निबन्ध, लेख तथा भाषणको सङ्ग्रह लेख्न भ्याएका थिए । उनी असामान्य प्रतिभाको धनी हुनुका साथै कठिन परिश्रमद्वारा आफ्नो प्रतिभा र क्षमता विकास गरेका थिए ।
आम्बेडकरका किताबहरू भारतमा मात्र नभई विश्वभर नै प्रसिद्ध र लोकप्रिय छन् । उनले लेखेको भारतीय संविधानलाई भारतको राष्ट्रग्रन्थ मानिन्छ । ‘भगवान बुद्ध र उनको धम्म’ नामक ग्रन्थ बौद्ध देशहरूमा धेरै प्रसिद्ध र महत्वपूर्ण छ । राजनिती, अर्थशास्त्र, मानवविज्ञान, धर्म, समाजशास्त्र, कानुन आदि क्षेत्रमा उनले किताब लेखेका थिए ।
आम्बेडकरद्वारा लिखित केही किताबहरू यसप्रकार छन् ।
१. कास्ट्स इन इन्डिया
२. एनिहिलेसन अफ कास्ट (सन् १९३६ मे)
३ .फेडेरेसन भर्सेज फ्रिडम (सन् १९३६)
४. पाकिस्तान अर द पार्टिसन अफ इन्डिया ÷ थाउट्स अन पाकिस्तान (सन् १९४०)
५. हु वेर द सुरदास? (सन् १९४६ अक्टोबर)
६. स्टेट्स एन्ड माइन्योरिटिज (सन् १९४७)
७. भगवान् बुद्ध र उनको धम्म (सन् १९५७)
८. पाली व्याकरण
९. वेटिङ फर अ भिसा
१०. भारत र साम्यवाद
आम्बेडकार उनका केही भनाइहरूबाट पनि चर्चित रहेका छन् । उनका भनाइलाई आज पनि संसारमा मन्त्रको रुपमा लिने गरिन्छ । उनका केही भनाइहरू वा प्रतिज्ञाहरू यसप्रकार छन् ।
१. म ब्रह्मा, विष्णु र महेशमा कुनै विश्वास छैन न त म तिनीहरूलाई पूजा गर्नेछु ।
२. म राम र कृष्ण, जुन भगवानको अवतार मानिन्छन, त्यसमा कुनै विश्वास गर्दिनँ न त म तिनीहरूलाई पूजा गर्नेछु ।
३. म गौरी, गणपति र हिन्दुहरूको अन्य देवताहरूमा आस्था राख्ने छैन र न त म तिनीहरूलाई पूजा गर्नेछु ।
४. म भगवानको अवतारमा विश्वास गर्दिनँ ।
५. भगवान् बुद्ध विष्णुको अवतार थिए भन्ने कुरालाई म विश्वास गर्दिनँ र कहिलै पनि गर्ने छैन, म यसलाई पागलपन र झूटा प्रचार मान्दछु ।
६. म श्राद्धमा भाग लिने छैन र न त पिंड–दान दिनेछु ।
७. म बुद्धको शिक्षा र सिद्धान्तहरू उल्लङ्घन हुने प्रकारले व्यवहार गर्ने छैन ।
८. म कुनै पनि ब्राहमणद्वारा हुने समारोहको स्वीकार गर्दैन ।
९. म मानिसको समानतामा विश्वास गर्दछु ।
१०. म समानता स्थापना गर्न प्रयास गर्नेछु ।
११. म बुद्धको आष्टांगिक मार्गका अनुशरण गर्नेछु ।
१२. म बुद्धद्वारा निर्धारित पारमितालाई पालना गर्नेछु ।
१३. म सबै जीवित प्राणीहरू प्रति दया र प्रेम राख्नेछु तथा तिनीहरूलाई सुरक्षा गर्नेछु ।
१४. म चोर्ने छैन ।
१५. म झूठ बोल्ने छैन ।
१६. म कामुक पापहरू गर्ने छैन ।
१७. म रक्सी, लागूपदार्थ र मादकपदार्थको सेवन गर्ने छैन ।
१८. म महान् आष्टांगिक मार्गका पालनको प्रयास गर्नेछु एवं सहानुभूति र दयामायाको दैनिक जीवनमा अभ्यास गर्नेछु ।
१९. म हिन्दु धर्मको त्याग गर्नेछु जुन मानवताको लागि हानिकारक, उन्नति र मानवताको विकासमा बाधक छन्, किनकि यो असमानतामा आधारित छन् र आफ्नो धर्मको रूपमा बौद्ध धर्मलाई अपनाउने छु ।
२०. म दृढताका साथ विश्वास गर्नेछु कि बुद्ध धर्म नै सत्य धर्म हो ।
२१. मलाई विश्वास छ कि म फेरि जन्म लिने छु ।
२२. म गम्भीरता एवं दृढताको साथ घोषित गर्दछु कि म यस (धर्म परिवर्तन) पछि आफ्नो जीवनलाई बुद्धको सिद्धान्त र शिक्षा एवं उनको धर्म अनुसार मार्गदर्शन गर्नेछु ।
जीवनको अन्तिम सत्रमा सन् १९४८ देखि नै आम्बेडकर मधुमेहबाट पीडित भए । राजनीतिक मुद्दाहरूद्वारा उदास आम्बेडकरको स्वास्थ्य असाध्यै खराब हुँदै गयो र सन् १९५५ को समयमा गरिएको निरन्तर कामले उनलाई सिकिस्त बनायो ।
आफ्नो अन्तिम पाण्डुलिपि “बुद्ध र उनको धर्म” को पुरा गरिएको तीन दिन पछि ६ दिसम्बर १९५६ मा अम्बेडकरको महापरिनिर्वाण उनकै घरमा भएको थियो । ७ डिसेम्बरको दिन मुम्बईमा दादर चौपाटी समुद्र तटमा बौद्ध शैलीले अन्तिम संस्कार गरिएको थियो जसमा उनको लाखौं समर्थकहरू, कार्यकर्ताहरू र प्रशंसकहरूले भाग लिएका थिए ।
















प्रतिक्रिया