काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ । सोमबार पार्टी सभापति रवि लामिछानेले क्लबको लोगो सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन् ।
क्लबको अवधारणा सार्वजनिक गर्दै लामिछानेले रास्वपाले राजनीतिक दस्तावेज, नारा र सिद्धान्तसँगै व्यवहारमा पनि फरक राजनीतिक अभ्यास अघि बढाउन खोजेको बताए ।
उनले राजनीतिक दलका नीति, सिद्धान्त र आदर्श समाजमा स्थापित हुन निश्चित समय लाग्ने उल्लेख गरे ।
उनले भने, ‘हाम्रो राजनीति दस्तावेज, नारामा र सिद्धान्तमा बढी तर व्यवहारमा अलिकति कमजोर हो कि भन्ने महसुस गरेर फरक राजनीतिक अभ्यासमा प्रवेश गरेका छौं । राजनीतिक दलका नीति, सिद्धान्त र आदर्श समाजमा स्थापित हुन निश्चित समय लाग्छ ।’
राजनीतिक दल सरकारमा पुग्न वा संसद्मा महत्वपूर्ण उपस्थिति जनाउन सक्ने भए पनि राजनीतिक दलका रूपमा स्थापित हुन आवश्यक अभ्यास र प्रक्रियाहरू पार गर्न समय लाग्ने उनको भनाइ थियो ।
लामिछानेले दल वैचारिक रूपमा स्पष्ट हुँदै आफ्ना विचार आम नागरिकसम्म पुर्याउन समय लाग्ने बताए । साथै, आवश्यक नेतृत्वको खोजी र राजनीतिमा ‘मेरिटोक्रेसी’ स्थापित गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ र ‘निर्देशिका कानुनी’को अवधारणा अघि सारिएको उनले जानकारी दिए ।
उनले भने, ‘राजनीतिक दल सरकार बन्न सक्ला, संसद्मा महत्वपूर्ण संख्या हासिल हुन सक्ला तर राजनीतिक दल बन्ने केही चलनहरू छन् । ती चलनहरू पार गर्न केही समय लाग्छ ।
वैचारिक रूपमा आफूलाई स्पष्ट पार्न, विचारहरु आम नागरिकमा पुर्याउन केही समय लाग्छ । त्यसका अलावा हामीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने, राजनीतिक संगैको एउटा ‘मेरिटोक्रेसी’ को विन्दु के होला भनेर सोचेर हामीले क्यान्डिडेट क्लब र निर्देशिका कानुनीको अवधारणा ल्याएका हौं ।’
उनका अनुसार ‘क्यान्डिडेट क्लब’मार्फत आवश्यक नेतृत्व पहिचान गर्ने र राजनीतिक क्षेत्रमा योग्यता तथा क्षमताका आधारमा अवसर सिर्जना गर्ने उद्देश्य राखिएको छ ।
















प्रतिक्रिया