Logo

अर्थ

बिचौलियाहरुको निशानामा कुमारी बैंक, गायक अमात्य पनि अनुसन्धानमा तानिए



१९ करोड रुपैयाँ ऋण प्रवाह प्रकरणको विवादमा तानिएको कुमारी बैंक बिचौलियाहरुको निशानामा परेको खुलेको छ । अनलाइनपानाले पाएको जानकारी अनुसार यस प्रकरणमा गायक योगेश्वर अमात्यमाथि नै अनुसन्धान भइरहेको बताइएको छ ।

यसअघि, गायक अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, पछि, ऋण प्रकरणमा बैंकको संग्लग्नता नरहेको बरु गायक अमात्यले नै बिचौलिया परिचालन गरी दोहोरो लाभ लिन खोजेको आशंकामा अनुसन्धान गर्न प्रहरीमाथि दबाब बढेको छ ।

अमात्यको जग्गामा आफ्नो संग्लग्नता नरहेको स्पष्ट पारेको कुमारी बैंकले यस प्रकरणमा बिचौलियाहरुले बैंकलाई निशानामा राखेर बदनाम गराई आफूहरु उम्किन खोजेको दाबी गरेको छ । हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रिय बैंकले यस विषयमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार ब्यूरोले बयानका क्रममा यसमा अन्य व्यक्तिको संग्लग्नता रहेको देखिएकोले उनीहरु लाई पनि बोलाएर छानबिन गर्नुपर्ने देखिएको बताएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : ०९ बजे