विश्व बैंकले आउँदो आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । रेमिट्यान्स बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी बढ्ने प्रक्षेपण गरेको हो ।
आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो । यसमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो । तर, यो वृद्धिदरसमेत सरकारको अनुमान भन्दा भने निकै कम हो । कोरोना महामारीका बीचमा समेत सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीको वृद्धिदरको पूर्वानुमान गरेको छ ।
दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । ‘आउँदो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउनेछ’, प्रतिवेदनमा भनिएको छ ।
विश्व बैंकको प्रक्षेपण अनुसार यो बीचमा भारतले अर्थतन्त्रमा लोभलाग्दो सुधार गर्ने भएको छ । गत आवमा भारतको आर्थिक वृद्धिदर माइनस ८.५ प्रतिशत रहेको थियो ।
यसमा ठूलो सुधार हुँदै चालु आवमै १०.१ प्रतिशत सम्म आर्थिक वृद्धिदर पुग्नेछ । त्यसपछिका दुई वर्षमा क्रमशः ५.८ प्रतिशत र ६.५ प्रतिशतको वृद्धिदर कायम रहने छ । यो वृद्धिदर अर्थतन्त्रका लागि निकै सन्तुलित अवस्था मानिन्छ । विश्व बैंकले भारतका लागि गरिएको पूर्वानुमानका तथ्यांक समेत सच्याएको छ ।
नयाँ प्रक्षेपण अनुसार सन् २०२१ मा दक्षिण एसियाली मुलुकको समग्र आर्थिक वृद्धिदरमै सुधारको लहर आउने छ । यसमा ठूलो भूमिका भारतको रहने छ । सन् २०२० मा माइनस ५.४ प्रतिशतको नकारात्मक वृद्धिदर भोगेको यो भेगमा सन् २०२१ मा ७.२ प्रतिशतको वृद्धिदर कायम हुने पूर्वानुमान विश्व बैंकले गरेको छ । सन् २०२२ मा भने यस भेगमा ४.४ प्रतिशतको वृद्धिदर रहने भएको छ ।
प्रतिक्रिया