Logo

साहित्य

कविता : मलाई माफ गर



आँगनमा
पाठा उफ्रँदै रमाएको देख्दा
आफ्नो बाँझो कोखलाई सुम्सुम्याउँदै सोच्थेँे—
मेरो पनि एउटा सन्तान भइदिए !
खेल्दै काखमा लुटुपुटु भइदिए !

सपनामा, हजुरले रिसाउँदै
बगैँचामा वर्षौंदेखि फल नलागेका आँपका रुखहरू
एक एक गर्दै काट्नुभयो
मैले डराउँदै सोधेँ— किन ?
जवाफ थियो—
थारा रुख किन राख्नु ?

आज म आफैँ त्यस्तै रुख भएकी छु !

बाँझो कोख
आकांक्षाहरूको बोझ
म एक्कासि कसैकी सौता भएकी छु
सुनबाट हठात पित्तल भएकी छु ।
घर एकलास भएको छ
वृद्धाश्रम मेरो वास भएको छ ।

सङ्लो पानीमा भल पसेपछि
आफ्नै छाया कहाँ देखिँदो रहेछ र ?
ऐनाअगाडि उभिएर पनि हेरेँ
आफ्नै रूप खै कस्तो देखेँ
कारण — मेरो बाँझो कोख ।

सँगै बाँच्ने र मर्ने वाचा थियो
तर सन्तान जन्माउने सम्झौता थिएन

खै कसका भूलहरूले
रित्तै मेरो काख रह्यो,
र म नासिएँ, भासिएँ
झ्यालढोका सब बन्द भयो ।

सबै प्रयास प्रभावशून्य भएपछि
टेस्टट्युबपुत्र भित्रिएछ कुलमा,
त्यस प्रविधिपुत्रले बाबु–आमाको आँसु पुछ्न सकेन सायद
धेरै वर्षपछि उहाँलाई पनि आश्रममा देखेँ !

उमेरले खाइसकेका क्लान्त आँखाहरूमा
पश्चात्तापका धर्सा थिए

छेउमै आएर भन्नुभयो—
हामीलाई वृद्धश्रम पठाउने सन्तान जन्माउन
मैले घरकी लक्ष्मीलाई घरबाट निकालेछु
म साँच्चै पापी हुँ
मलाई माफ गर ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १०:२७   :  बजे

834
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।