को गए कति आए ? विमानस्थलको टिपोटमा रहेको छ । को रुँदै गए र को हाँस्दै आए भन्ने कुराको लेखाजोखा विमानस्थलले राख्दैन । तर मनको अन्तरकुन्तरमा केही रहिरहेका हुन्छन् ।
विदेशमा काम गर्ने नेपाली कामदारका विवरणहरू राख्ने सरकारी निकायहरूका अनुसार पछिल्लो दशकको तथ्याङ्क हेर्दा हरेक महिना औसतमा करिब ५५ जना नेपालीको मृत्यु हुने देखिएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष (२०७६-७७) मा मात्र विदेशमा मृत्यु भएका ७५५ जनाको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । त्रिभुवन विमानस्थलमा हरेक दिन कम्तीमा दुई मृत शरीरहरू आइपुग्ने दाबी छ ।
अधिकारीहरूका अनुसार अहिले पनि नेपालमा वैदेशिक रोजगारीमा गएर मृत्यु भएका दैनिक दुई जनाको लास नेपाल आउने गरेको छ । त्यस्तै अङ्गभङ्ग हुनेहरूको सङ्ख्या पनि ठूलो रहेको छ ।
विदेशिनु कुनै रहर होइन भन्ने समाज छ । किनकि यहाँ गरिबीको रेखामुनि बसेकाहरूलाई रहर हुँदैन, बाध्यता रहन्छ । निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८ दशमलव ७ प्रतिशतलाई २०८७ सम्म ४ दशमलब नौ प्रतिशत र बहुआयामिक गरिबी सूचकाङ्क २८ दशमलव ६ प्रतिशतलाई विसं २०८७ सम्ममा १० प्रतिशत एवम् विसं २१०० सम्म तीन प्रतिशतमा झार्ने प्रक्षेपण गरिएतापनि यसको झल्को हालसम्म देखिएको छैन । कसरी भन्ने कुरा विमानस्थलमा रोजगारीको लागि वैदेशिक रोजगारीमा जाने कामदारको लर्को नै ज्वलन्त उदाहरण हो ।
विमानस्थलको गेटमा बा आमाको खुट्टा ढोगेर आर्शीवाद लिइरहेको दृश्यले देशको आर्थिक अवस्थाको तीतो वर्णन गर्दछ । यस्ता दृश्य आजको मात्र होइन । यस्ता दृश्य वर्षौबाट देखिएका छन् । यस्ता दृश्यले देशको आर्थिक हैसियतको मूल्याङ्कन त गर्छ नै सँगै राजनैतिक खिचातानीको ऐना पनि छर्लङ्ग देखाउँछ ।
छोरा गुमाएको पीडा, श्रीमान गुमाएको चित्कार, बुवा लडेको दृश्य, छोरी हारेको वेदनालाई प्राय दिनहुँ नै बोकेर बसेको छ विमानस्थल । विमानस्थलमा दिनहुँ कोही न कोही प्रशासन र नेताको आगमन हुन्छ नै तर किन देख्दैन कारुणिक दृश्य एक प्रशासनले एक राजनैतीक नेताको आँखाले ? के भूपीले भनेजस्तो “हामी केवल एक भोट मात्र हौँ ?”
विमानस्थल आँसु जम्मा गर्ने कुनै भाँडो भएको छ । हरेक नेपाली रुने ठाउँ बन्दैछ । यसलाई बेलैमा होस पु¥याइएन भने यसले झनै भयानक रुप लिने सम्भावना बढेर जाने देखिन्छ । यसको लागि सरकार सचेत रहनु आवश्यक छ । सरकारले स्वदेशमै उचित रोजगारको व्यवस्ता गर्दिए कोही पनि विमानस्थलमा पुगेपछि फर्कन्छु कि फर्कन्न भन्ने दोधारमा लामो सास फेर्दै बस्ने थिएनन् ।




















प्रतिक्रिया