Logo

स्वास्थ्य

जुन स्कुलमा ढिकी, जाँतो पढाइन्छ



नढाँटी भन्ने हो भने नेपालमा शिक्षा धोका बन्दैछ । प्राज्ञिक स्थलबाट दीक्षित भएको मानिसका लागि आर्जन गरेको ज्ञान जीवन बाँच्ने कला नभएर ठगी खाने व्यापार बन्दै आएको छ । जबसम्म शिक्षा र स्वास्थ्य आमनागरिकको मौलिक हक बन्दैन, तबसम्म विकासका कुरा पाखण्ड शिवाय केही नहुने स्पष्ट छ । अहिले काठमाडौमा बनेका अधिकांश अग्ला महलको प्रयोग दुई कामका लागि भएको छ । पहिलो कि निजी उच्च मावि हैन भने हाईफाईका नर्सिङ होम । देशमा शिक्षाको ज्योति बाल्ने दरबार स्कुल, पद्मोदय स्कुलको परिचय गोठाला खेताला पढाउने स्कुलमा सीमित भएको छ ।

पूर्वीय संस्कृतिको राष्ट्रिय मापन बोकेको तीनधारा संस्कृत पाठशालाको परिचय न हाँस, न बकुल्लाको अवस्थामा पुगेको छ । भाग पुर्‍याउने र समावेशीका नाममा यसको मूल मर्ममाथि नै प्रहार भएको छ । रोजगारीको आधार बन्नुपर्ने शिक्षा बेरोजगार जन्माउने कारखानामा रुपान्तरण हुँदै गएको सवैले अनुभव गरेकै तथ्य हो । अमेरिकाको हार्वर्ड विश्व विद्यालय, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, भारतको श्रीराम कलेजदेखि बीएचयू र जेएनयूको गाथा गाएर नथाक्ने नेपाली समाज त्रिभुवन विश्वविद्यालय, दरबार स्कुलको नाम लिँदा नाक खुम्च्याउँछ । यदि हामी सोझो बाटोमा हिँड्थ्यौं भने मेरो सन्तान दरबार स्कुलमा पढ्छ भन्दा नाङ्लो जत्रो छाती बनाउनुपर्ने थियो नि हैन र ? सच्चा शिक्षाले ज्ञान दिन्छ । तर हामी सूचनाबाट माथि उठ्न सकेनौं । तर सवै ठाउँमा अन्धकार मात्र छैन् । कहीँ अपेक्षा नै नगरिएको दुरदराजमा आशाका किरण देखा परेका छन् । जसले उँधौली लागेको निरासाको कालो बादलभित्र चाँदीको घेराजस्तै काम गरेका छन् । एकातिर कोरा शिक्षाले बेरोजगार जन्माइरहेको अवस्था अर्कातिर आइफाइभ अनि फेसबुक पुस्ता जन्मिरहेका बेला सिन्धुपाल्चोकको दुर्गम बस्तीमा रहेको एउटा स्कुलले भने नेपाली माटो, संस्कार, संस्कृति र जीवनशैलीलाई आफ्नो मूलबाटो बनाएको छ । 

सिन्धुपाल्चोक जिल्लाको कालिका गाउँ । सीमान्तकृत माझीहरुको बसोबास रहेको यो गाउँ चरम गरिबीको खुल्ला पुस्तकको परिचय बोकेर वर्षौंदेखि बसिरहेको छ । तर तिनै गरिबका सन्तान पढ्ने  उखुबारीमा रहेको यो विद्यालयको इज्जतै बेग्लै छ । यस विद्यालयमा माझी समुदायका विद्यार्थीहरुको वर्चस्व छ । सामुदायिक भएर पनि निजी विद्यालयलाई टक्कर दिन सक्ने क्षमता भएको कालिका निम्न माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई शिक्षा हैन, ज्ञान बाँड्छ । जुन विद्यालयमा घोकन्ते विद्या पुरै बर्जित छ । जहाँ चक, डस्टरको प्रयोग हुँदैन । कक्षा कोठामा शिक्षक र विद्यार्थीबीच साथीभाइजस्तो व्यवहार हुन्छ । पाठ नघोकेको या गृहकार्य नगरेको नाममा कुनै शिक्षकले विद्यार्थीलाई कुट्नु त परै जाओस् , कर्के नजरसम्म लगाउन पाइँदैन । आफ्ना विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिन शिक्षकहरु दिनरात मेहनत गर्छन् । पाठैपिच्छेका प्रयोगात्मक सामाग्री तयार गर्नु शिक्षकको दैनिकी बन्दै आएको छ । शिक्षकहरुको मेहनत हेर्दा लाग्छ– उनीहरु दिनैपिच्छेको अग्निपरीक्षामा छन् ।  घोकन्ते विद्या भन्ने परम्परागत उक्तिलाई यहाँको वातावरणले मिथ्या सावित गरिदिन्छ ।  एउटा सानो विद्यालयले नौलो तरिकाबाट बाल मस्तिष्कमा शिक्षाको आलोक छर्न गरेको प्रयास यसक्षेत्रकै लागि नमूना बनेको छ ।

विद्यार्थीहरु कहिले ढिकी, जाँतो, ओखल कुटेर शिक्षाको अभ्यास गरिरहेका हुन्छन् त कहिले मदानी र ठेकीको घार्रघुर्रमा रमाइरहेका हुन्छन् । हलगोरु बनेर हलो जोत्नेदेखि असारे गीतमा छुपु छुपु रोपाइँ गर्ने विद्यार्थीहरुको उत्साह उत्तिक्कै चाखलाग्दो देखिन्छ । व्यावहारिक र सिर्जनात्मक विधिबाट विद्याथीहरुले धेरै सिक्न सक्छन् भन्ने विश्वव्यापी मान्यता हो । विज्ञान होस् या गणित, अंग्रेजी होस् या नेपाली सवै विषयको प्रयोगात्मक अभ्यास हुन्छ । पढ्ने क्रममा विद्यार्थीहरु यसरी रमाएर पढ्छन् कि उनीहरु पढेको पत्तै पाउँदैनन् । हेर्नुस् न सिकाउने विषयलाई संगीतका माध्यमबाट मनोरञ्जनपूर्ण बनाएर सिकाइएको यो विधि आपैंmमा रोमाञ्चक छ । 

पढाईमा मात्र हैन, खेलाईमा समेत विद्यार्थीको बृत्ति विकास र स्वास्थ्यमा ध्यान दिने गरिएको छ । स्वास्थ्यलाई हानी पु¥याउने रबर जोडेर केटाकेटी बीच खेलिने लोकप्रिय चुंगी खेल यिनीहरु स्थानीय बनस्पतिको उपयोग गरेर खेल्छन् । पढाईको यो विधिले शिक्षासंगै समाजबाट लोप हुने क्रममा रहेका परम्परागत वस्तुका विषयमा भावी पुस्तालाई जानकारी दिने काम पनि भएको छ । 

आफूलाई चिनाउने शिक्षाले मात्र सार्थक उपलब्धि हात लाग्न सक्छ । गाउँको एउटा कुनाको विद्यालयमा बालिएको प्रयोगात्मक शिक्षाको यो दियोलाई देशव्यापी बनाउनु आवश्यक छ । शुरुमा यसखाले शिक्षा दिँदा गाउँमै अन्योल थियो । गाउँलेहरु आधुनिक समयमा पुरातन शिक्षाको यसखाले पढाइबाट छोराछोरी गरिखाने नहुने पो हुन् कि भनेर चिन्ता गर्थे । तर विस्तारै विस्तारै बोर्डिङ पढ्ने छिमेकीको सन्तानभन्दा आफ्ना छोराछोरी व्यवहारिका र मेहनती बनेको देखेपछि उनीहरुको भरंग भएको मनमा सन्तुष्टि पलाउन थाल्यो । अहिले त कोही पनि बोर्डिङको नामै सुन्न चाहँदैनन् ।

विद्यालय शुरु गर्दा विद्यार्थी शिला भैंm खोज्नुपर्ने गाउँमा अहिले स्कुलको प्रभावका कारण पढ्न चाहनेहरुको भीड बढ्दै गएको छ । तर भौतिक पूर्वाधार नपुग्दा चाहेको संख्यामा विद्यालयले भर्ना लिन सकेको छैन् । प्रयोगात्मक पढाईको नमूना शिक्षा शुरु भएपछि यो भेगमै स्कुलको प्रभाव बढेको छ । जिल्ला टेक्ने शिक्षाप्रेमीहरुका लागि त झन् हट्केक जस्तै बनेको छ ।

त्यसो त रहर गरेर मात्र यस्तो शिक्षा सम्भव छैन् । भौतिक पूर्वाधार, इच्छाशक्ति भएका शिक्षक शिक्षिकाबाट मात्र यो बाटो तय गर्न सकिन्छ । यो स्कुल शुरु भएको अढाई दशक भएको छ । संख्यात्मक हिसावमा प्रगति नगरेपनि गुणात्मक परिणाम हासिल गर्न सकेकोमा विद्यालयका प्रधानाध्यापक तोयानाथ प्याकुरले गौरव गर्छन् । उनी विद्यालयको आकार बढाउने भन्दा पनि खारिएका विद्यार्थी हस्तान्तरण गर्ने लोभ आपूmमा भएको बताउँछन् । 

अभिभावकहरु पनि उत्तिक्कै मख्ख छन् । तीन कक्षा पढ्ने आफ्नो सन्तान बाबुआमाको सपना पूरा गर्ने भएकोमा सन्तुष्ट देखिएका बिर्खे माझी आफूहरुले नपढेपनि सन्तानलाई उच्च शिक्षा दिने मनोकांक्षा राख्छन् । यो स्कुलप्रति स्थानीय संघसंस्थाहरुको पनि चासो बढेको छ । टुकी संघ सुनकोशीका कार्यक्रम संयोजक कृष्णप्रसाद पराजुली आफूहरुले भौतिक तथा पूर्वाधार निर्माणमा स्कुललाई सघाउँदै आएको बताउँछन् । जिल्लाकै नमूना विद्यालय भएकाले यसलाई देशकै प्रतिकात्मक थलो बनाउने आफूहरुको सोच रहेको पराजुलीको भनाइ छ । जसका लागि शिक्षक तालिम, भौतिक सामग्री सहयोग, खेल मैदान निर्माण सहयोग गरेको संघले जनाएको छ । 

 

प्रकाशित मिति : बैशाख १, २०७८ बुधबार  ५ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।