काठमाडौं । मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गर्न थालेको छ ।
बुधवार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले जरिवाना तिराएको हो ।
कार्यालयले काठमाडौंको विभिन्न स्थानको अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताएका छन् ।
उनले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई सय रुपैयाँ जरिवाना गरिएको बताए ।
त्यसैगरी अब मास्क नलगाउनेलाई होटल रेष्टुरेन्ट तथा सार्वजनिकस्थलमा प्रवेश निषेध गरिने भएको छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट तीव्र गतिमा फैलिएसँगै सुरक्षा मापदण्डको थप व्यवस्था गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो व्यवस्था गरेको हो ।
बुधबार सुरक्षा मापदण्डको थप निर्देशन जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा सिमित व्यक्तिलाई मात्र राखेर कम्तिमा दुई मिटरको सामाजिक दूरीमा सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ । होटलमा मास्क तथा सेनिटाइजरको अनिवार्य व्यवस्था गर्न र मास्क नलगाउनेलाई प्रवेश निषेध गर्न समेत मन्त्रालयले भनेको छ ।
यदि कसैले मास्क नलगाई आएमा त्यस्ता व्यक्तिलाई बढीमा पाँच रुपैयाँसम्म लिएर मास्क उपलब्ध गराउन समेत सम्बन्धित संस्था तथा होटललाई मन्त्रिपरिषद कार्यालयले निर्देशन दिएको छ ।




















प्रतिक्रिया