नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया