सिद्धार्थ बैंकले ३० लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको लागि बैंके रेटिङ समेत सम्पन्न गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो । यता, बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ ।
निष्कासन हुन लागेको ऋणपत्रमा वार्षिक ८.५५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
प्रतिक्रिया