Logo

स्वास्थ्य

अक्सिजन किन्न स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने 



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिस विना अक्सिजन ग्यास किन्न नपाइने भएको छ । मन्त्रालयले अक्सिजन विक्री नगर्न ग्यास उद्योगीलाई निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

कोरोनाको दोस्रो लहरका कारणले धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसविना अस्पताललाई ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरिएको मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा. गुणराज लोहनीले जारी गरेको सूचनामा उल्लेख छ ।

“कोभिड–१९ महामारीको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्दर्भमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न हुन अनुरोध गरिन्छ । ” सूचनामा उल्लेख छ ।

मन्त्रालयले कान्तिपुर अक्सिजन प्रालि, सगरमाथा अक्सिजन प्रालि, अक्सिटेक अक्सिजन प्रालि, नवज्योति अक्सिजन प्रालि, हाम्रो अक्सिजन प्रालि, सोपान फर्मास्युटिकल्स प्रालि, हिमाल अक्सिजन प्रालि, सीता अक्सिजन प्रालि, शंकर अक्सिजन प्रालिलगायत सबै अक्सिजन ग्यास आपूर्तिकर्तालाई पत्र लेख्दै मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन बिक्री गर्न अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।