कोरोनाको दोश्रो लहरको संक्रमण दर पोखरा क्षेत्रमा समेत हरेक दिन बढ्दै जादा पोखराका ७ रोटरी क्लवले गण्डकी अटो मेकानिकल वर्कशप एसोसिएसनको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेको छ ।
कार्यक्रम संयोजक मिनु कुंवर श्रेष्ठको अध्यक्षतामा आइतबार पोखरामा बसेको बैठकले पोखरामा अक्सिजन ग्याँसको अभावमा कसैले जीवन विताउन नपरोस् भन्दै आफूहरुले अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेर काम गर्न सुरु गरेको अक्सिजन ग्याँस संकलन तथा व्यबस्थापन समितिका संयोजक अर्जुन खनालले बताए ।
विभिन्न व्यक्ति तथा कम्पनीहरुसंग रहेका अक्सिजन ग्याँस सिलिण्डर आफूहरुले आजै देखि पोखरा क्षेत्रमा संकलन गर्न थालेको समेत उनले बताए । पछि फिर्ता गर्ने सर्तमा हाल अक्सिजन ग्याँस सिलिण्डर संकलन गर्ने र अत्यावस्यक पर्ने पोखरा क्षेत्रका कुनै पनि अस्पतालमा समेत आफूहरुले पुर्याउने गरी हाल अक्सिजन ग्याँस सिलिण्डर संकलन तथा व्याबस्थापनमा आफूहरु जुटेको खनालले बताए । उक्त अभियानमा रेडियो अन्नपूर्णले मिडिया पार्टनरको रुपमा काम गर्ने जानकारी प्रचार संयोजक समेत रहेका खनालले जनाए ।
उनले भने “कोरोनाका गम्भिर बिरामीको लागि अत्यावस्यक अक्सिजन ग्याँस सिलिण्डिरको अभावले कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्दै हामीले एउटा अभियान सुरु गरेका छौं यदि तपाईसंंग कुनै अक्सिजनको ग्याँस सिलिण्डर छ भने हामीलाई उपलब्ध गराएर कसैको जीवन बचाउने अभियानमा साथ दिनु सक्नु हुन्छ, हामी अपिल गर्न चहान्छौं ।” आपतकालिन अबस्थामा कसैले अनावश्यक रुपमा अक्सिजन ग्याँस सिलिण्डर भण्डारण नगर्न खनालले आग्रह गरेका छन् ।
सामाजिक उत्तरदाहित्वको लागि रोटरी अभियान, रोटरी जीवनको आसा अन्तर्गत संचालन गरिएको रोटरी मणिपाल कोभिड—सेन्टर समेत संचालन गरिने भएको खनालले बताए । मणिपाल शिक्षण अस्पतालको समेत समन्वयमा अस्पतालमा करिब एक सय शैया क्षमताको कोभिड सम्बन्धि सम्पुर्ण उपचार हुने भएको उनको भनाई रहेको छ ।
पोखराका ७ वटा रोटरी क्लवहरु रोटरी क्लव अफ पोखरा, रोटरी क्लव अफ लेकसाइड, रोटरी क्लव अफ न्यूरोड, रोटरी क्लव अफ अन्नपूर्ण, रोटरी क्लव अफ फिस्टेल, रोटरी क्लव अफ मिट टाउन र रोटरी क्लव अफ पोखरा लेखनाथ उक्त अभियानमा जुटेका छन् ।
आइतबार बसेको बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । अर्थ नियन्त्रण संयोजकमा पशुपति शर्मा, अर्थ संकलन समिति संयोजकमा रमेश कोइराला, अक्सिजन ग्याँस सिलिण्डर संकलन तथा व्याबस्थापन एवं प्रचार संयोजकमा अर्जुन खनाल, सहयोग सामाग्रि संकलन तथा वितरण संयोजकमा जितेन्द्र सिग्देल रहेका छन् । महामारीका वेला उक्त अभियानले थोरै भए पनि मलमपट्टीको काम गर्नेमा आफुहरु आशावादी भएको अभियानका सल्लाहकार विश्वशंकर पालिखेले बताए ।




















प्रतिक्रिया