Logo

नेपालको कोरोना संक्रमण दर भारतमा भन्दा दोब्बर



भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो । यो ६।१७ प्रतिशत हो ।

त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो । त्यो १३।४० प्रतिशत हो ।  केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ । बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२.७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४।०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो । स्वास्थ्य मन्त्रालयका विज्ञ डा। सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ ।

नेपालले उछिन्यो भारतलाई 

दक्षिणी छिमेकी मुलुक भारत धेरै संक्रमित भेटिएको विश्वकै दोस्रो राष्ट्र बनेको छ । अमेरिकापछि धेरै संक्रमित भेटिएको भारतमा हालसम्म ६२ लाख ४५ हजार ४ सय ४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय सक्रिय संक्रमण दर पनि भारतको भन्दा नेपालको उच्च छ । भारतमा सक्रिय केस १५ दशमलव ४ प्रतिशत छ। नेपालमा २६ दशमलव ८ प्रतिशत पुगेको छ।  भारतमा संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने नेपालमा ७२ दशमलव ५ प्रतिशत निको भएका छन् ।

नेपालमा हरेक दिनजसो १५ सयको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन् । अहिले सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा १० हजार ८ सय ४ जना छन् । संस्थागत आइसोलेसनमा १० हजार ८७ जना छन् । पछिल्लो चौबीस घण्टामा १ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । अन्नपूर्ण पोस्टबाट

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ९ : ३१ बजे