सन् १८९५ मा इटालियन वैज्ञानिक जि. मार्कोनीले विद्दुतीय तारबिना आवाज सम्प्रेषण गर्न सफल भएपछि विश्वमा रेडियोको अविष्कार भएको हो । यस रेडियो प्रविधीलाई वायरलेस अथात् बेतार भन्ने गरिन्थ्यो । सन् १९०१ मा माकोर्नीले रेडियो सङ्केतलाई आन्ध्र महासागर वारपार २१०० माइल टाढासम्म सुन्ने बनाएपछि रेडियो प्रविधि विश्वमा फैलिएको हो । विश्वमा औपचारिक रूपमा रेडियो प्रसारण अमेरिकाको पेन्सलभेनिया सहरबाट सन् १९२०मा भएको थियो ।
रेडियो प्रसारणसम्बन्धि विद्युत–चुम्बकीय तरङ्गको सिद्धान्त सन् १८६०मा प्रतिपादन भएतापनि सन् १९१९मा मात्र रेडियो प्रसारण सुरु भएको हो । अक्टोबर सन् १९१९मा अमेरिकाको पिट्सवर्ग शहरमा वेस्टिङहाउस कम्पनीले पहिलो व्यावारिक रेडियो खोलेको हो । सन् १९२०को दशकमा अमेरिका र बेलायतमा रेडियो प्रसारणले गति लियो ।
यसैक्रममा सन् १९२२ माब्रिटिस ब्रोडकास्टिङ कम्पनीको स्थापना भयो जुन सन् १९२७मा आएर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसनमा परिणत भयो। नेपालमा अप्रिल सन् १९५० (२० चैत्र २००७) देखि काठमाडौमा औपचारिक रूपमा सरकारी स्तरबाट प्रजातन्त्र नेपाल रेडियो खुलेको हो । यसै रेडियोलाई पछि रेडियो नेपाल नामाकरण गरिएको हो ।
नेपालमा सरकारी स्तरबाट प्रसारण थालिएको झण्डै ५० वर्षपछि गैर सरकारी क्षेत्रमा एफएम प्रविधिको प्रयोग गरी रेडियो प्रसारण गर्नका लागि इजाजत दिने काम सुरु भयो । विस २०५४ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै पहिलो गैर सरकारी रेडियो स्टेशन हो ।
रेडियो कर्मी,– रेडियोमा काम गर्ने पत्रकार तथा अन्य कर्मचारीलाई रेडियो कर्मी भनिन्छ .नेपालमा रेडियो कर्मीको संख्या करिब ५००० जति भएको अनुमान छ .पछिल्लो समयमा रेडियो का प्राबिधिक ,प्रस्तोता सबैलाई पत्रकार भनेर समेत परिभाषित गरिएको छ । समाचारमा काम गर्ने सबैलाई यस अघिनै पत्रकार भनिन्थ्यो । पत्रकार महासंघले दलित जनजाती भए कम्तिमा दस जोड २ गरी १ वर्ष रेडियो मा काम गरेको तथा अन्य भए २ वर्ष रेडियोमा काम गरेको व्यक्तिलाई सदस्यको लागि योग्य मानेको छ । स्नातक भए सबैलाई १वर्ष को कार्य अनुभव अनिवार्य छ ।
नेपालको पहिलो रेडियो कर्मी तारणी प्रसाद कोइराला हुन् । त्यस्तै गजाधरभक्त माथेमा, कवि फणीश्वरनाथ रेणु (हिन्दी) विजयालक्ष्मी (वि.पि. कोइरालाकी बहिनी) सुरुआति अन्य रेडियो कर्मी हुन् .२००७ साल मंसिर २८ गते बिहान ८ः३० बजे एकाएक एउटा प्रसार सुनियो– “यो नेपाल प्रजातन्त्र रेडियो हो । हामी विराटनगर मुक्तिमोर्चाबाट बोलिरहेका छौ ।” यो नै नेपाली रेडियोकर्मीले बोलेको पहिलो आवाज हो ।
यसरी २००७ सालमा प्रजातन्त्र प्राप्त भएपछि चैत्र २० गतेदेखि औपचारिक रूपमा नेपालमा रेडियो बज्न थालेको हो । सशस्त्र द्वन्द्वको समयमा पनि तत्कालीन नेकपा माओवादीले आफ्नो एजेण्डा तथा गतिविधिहरू जंगल जंगलबाट डोको रेडियो गैरकानुनी ढङ्गले भएता पनि प्रशारण गरेको थियो ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि नेपाली जनताले भयमुक्त वातावरणको अनुभूति पाए । फलस्वरूप प्राप्त नेपाल अधिराज्यको संविधान २०४७ ले प्रदत्त गरेको मौलिकहक नेपाली जनताले यसअघि कहिल्यै प्राप्त नगरेको उपलब्धि थियो । बहुदलीय लोकतान्त्रिक व्यवस्थाको पुनस्र्थापनापछि सरकारले वि.सं. २०४९ सालमा राष्ट्रिय सञ्चार नीति तयार पार्यो, जसले निजी क्षेत्रका संगठित संस्थालाई पनि निश्चित क्षेत्रको फ्रिक्वेन्सी मोडुलेसन एफएम प्रसारण प्रणाली स्थापना गरी शिक्षाप्रद र मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्न दिने व्यवस्था गर्यो ।
यही सञ्चार नीतिको आधारमा बनेको राष्ट्रिय प्रसारण ऐन २०४९ मा शिक्षाप्रद मनोरञ्जनात्मक तथा समाचारमूलक कार्यक्रम प्रसारण गर्न एफएम प्रसारण प्रणाली स्थापना गर्न चाहने व्यक्ति वा संगठित संस्थालाई कार्यक्रम प्रसारण गर्न दिने व्यवस्था गरियो । २०५२ सालमा राष्ट्रिय प्रसारण नियमावलीको आगमन पश्चात् केही समय रेडियो नेपाल आफैले १०० मेगाहर्जमा प्रसारण सुरु गर्यो । २०५४ जेठ ९ मा आएर रेडियो सगरमाथाले इजाजत प्राप्त गरे पश्चात् मात्र नेपाली सञ्चार जगतमा निजी क्षेत्रबाट एफएम प्रणालीको इतिहास सुरु भएको हो । नेपालमा मात्र नभएर दक्षिण एशियाकै पहिलो सामुदायिक एफएम रेडियोको रूपमा सरगमाथाले आफ्नो प्रशारण सेवा सुरु गर्यो ।
नेपाली रेडियोको इतिहासलाई नजिकबाट निहाल्ने हो भने यसको सबैभन्दा छिटो विकास भएको पाइन्छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले गत पौष मसान्तसम्ममा सात सय ४६ वटा रेडियोहरूलाई इजाजत प्रदान गरेको छ । जसमध्ये पाँच सय सात रेडियोहरू नियमित प्रशारणमा रहेका छन् ।
जुन सामुदायिक तथा व्यवसायिक अवधारणा अन्तर्गत सञ्चालनमा आएका छन् । नेपालका स्वतन्त्र एफएम रेडियोहरूले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका छन् । एकातिर मानवअधिकारको रक्षा र लोकतन्त्रको पक्षमा जनचेतनाको लहर ल्याउन प्रभावकारी कार्य गरेको छ भने अर्कोतिर नागरिकहरूको लागि दु्रत सूचना प्राप्तीको गतिलो र भरपर्दा माध्यम एफएम रेडियोहरू बनेका छन् ।
पछिल्लो पटक मनाङ जिल्लामा पनि गत जेठ २० गतेबाट सामुदायिक रेडियो स्थापना भएसँगै नेपालका ७७ वटै जिल्लाहरूमा एफएम रेडियोहरूको पहुँच रहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालका ९० प्रतिशत नागरिकसम्म रेडियोको पहुँच पुगेको छ भने ६० भन्दा धेरै भाषामा समाचार एवम् कार्यक्रमहरू प्रशारण गरेर भाषा संस्कृतिको प्रबद्र्धनमा समेत रेडियोले अमूल्य योगदान पुर्याउँदै नागरिकको सूचनाको साथी एफएम रेडियो नै बनेको छ । त्यतिमात्र होइन नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि रेडियोले समग्र जनतालाई विकासको मूलधारमा ल्याउनको लागि नागरिकलाई सू–सुचित पार्ने र नराम्रो पक्षको खबरदारी गर्नको लागि पनि ठूलो भूमिका खेल्दछ ।
स्थानीय भाषामा सामग्री प्रसारण गर्ने हुनाले यस्ता रेडियोबाट प्रसारित सामग्रीप्रति नागरिकको चासो र जनविश्वास रहन्छ । जनताले चाहेका र रुचाएका सामग्री प्रसारण गरेर नेपालका रेडियो आवाजविहीनहरूको आवाज बन्न प्रयत्न गरिरहेका छन् । साथै नागरिकको आर्थिक तथा सामाजिक रूपान्तरणको लागि प्रत्यक्ष रूपमा भूमिका पनि खेल्नसक्ने सामथ्र्यतता नेपाली रेडियोहरूमा रहेकोले यो भूमिका निर्वाह गर्नको लागि पनि रेडियोहरूले अमूल्य योगदान दिएका छन् यो कार्यले निरन्तरता पाउनुपर्दछ ।





















प्रतिक्रिया