Logo

राजनीति

प्रधानमन्त्रीले विधिको हुर्मत लिए, राजीनामा दिनुपर्छ: हर्क



काठमाडौं ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको कार्यशैली र सरकारका पछिल्ला कदमहरू लोकतन्त्रको मर्मविपरीत रहेको भन्दै राजीनामा दिनुपर्ने माग गरेका छन्।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष साम्पाङले २३ वटा बुँदागत कारण प्रस्तुत गर्दै प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने अडान राखेका हुन्।

उनले प्रधानमन्त्रीको राजीनामा माग्नुको मुख्य कारणमध्ये सीमा रक्षामा भएको कमजोरी र नेपाली सेनाको दुरुपयोगलाई प्रमुखताका साथ उठाए।

‘प्रधानमन्त्रीले सीमा रक्षामा चुक्नुभएको छ र नेपाली सेनाको दुरुपयोग गरिरहनुभएको छ,’ साम्पाङले भने, ‘सेनालाई ठूला प्राकृतिक प्रकोप वा संकटकालमा मात्र निकाल्नुपर्छ, सुकुम्बासी बस्तीतिर घुमाउने र लगत संकलनमा लगाउने काम सेनाको होइन।’

अध्यक्ष साम्पाङले सरकारले संसद्लाई उपेक्षा गरेर अध्यादेशको बाटो रोजेकोमा समेत आपत्ति जनाए। उनले सार्वभौम संसद्लाई छलेर ल्याइने अध्यादेशले लोकतन्त्रमाथि नै प्रश्न उठाएको तर्क गरे।

‘संसद् भनेकै लोकतन्त्र हो, तर संसद् छलेर अध्यादेशको बाटो रोज्नु भनेको लोकतन्त्र नमान्नु हो,’ उनले थपे, ‘छिटो डेलिभरी दिने बहानामा विधि मिच्न पाइँदैन। जसरी छिटो धन कमाउन मान्छेले तस्करी वा भ्रष्टाचार गर्छ, सरकारले पनि अध्यादेशमार्फत त्यस्तै गलत बाटो रोजेको छ।’

न्यायपालिकाको नियुक्तिमा वरिष्ठता मिचिएको विषयलाई पनि उनले प्रधानमन्त्रीको राजीनामाको कारणका रूपमा अघि सारे। चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले न्यायालयलाई विवादमा तानेको उनको आरोप छ।

‘विधिभन्दा बाहिर गएर किन काम गर्नुपर्‍यो ?’ उनले प्रश्न गरे, ‘सरकारले विधि मान्ने र विधि बनाउने हो, तर यहाँ त विधिको हुर्मत लिने काम भएको छ।’

सञ्चारकर्मीले उनले राष्ट्रपतिलाई ‘यार’ र उपसभामुखलाई ‘बहिनी’ भनेर सम्बोधन गरेको विषयमा सोधेको प्रश्नमा साम्पाङले संसद्‌भित्रको मर्यादा र बाहिरको बोली फरक हुने तर्क गरे।

‘संसद्‌भित्र रोष्ट्रमबाट बोल्दा माननीय र सम्माननीय भन्नुपर्छ, त्यो मर्यादा हो,’ उनले सुनाए, ‘तर बाहिर कसैलाई यार वा बहिनी भन्नु सामान्य कुरा हो। राष्ट्रपतिलाई यार भन्यो भन्दैमा त्यसलाई इस्यु बनाउनु आवश्यक छैन।’

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा आफूविरुद्ध आउने टिप्पणीहरू भाडाका मान्छेले गराएको दाबी गरे। उनले मिडियाको ‘अल्गोरिदम’ चलाएर चुनाव जितेकाहरूले नै आफूविरुद्ध नकारात्मक प्रचार गरिरहेको आरोप लगाए।

यद्यपि, आफू सधैँ सत्यको पक्षमा बोल्ने र जनताका समस्यालाई सरकारसम्म पुर्‍याउन पछि नहट्ने उनले प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २७ बैशाख २०८३, आईतवार २०:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।