Logo

प्रमुख समाचार

महेश पौड्यालका आठ कविता



१.

धराप

हेरेरै त बितायौँ एकअर्कालाई
पूरा बैँस, आधा जिन्दगी ।
सबै सबै देख्न पनि त भ्यायौँ
मर्यादाका वर्जित र स्वीकृत किल्लाहरू ।
एकदिन कसो झिमिक्क गरेथ्यौँ आँखा
चाल मारेर नेपथ्यबाट आएको समयले
तिम्रो शिरभरि हिउँ फुलाएर भागेछ
मेरो शिरभरि तुसारो छरेर भागेछ ।
निर्निमेष पहरा दिएरै बसेका हामीले कसरी देखेनौँ
यो झर्दैगरेको हिउँ, तिम्रो शिरमा?
यो पर्दैगरेको तुसारो, मेरो शिरमा?
हेरेर एकअर्कालाई खै के देख्यौँ र हामीले?
दिएर पहरा हरघडी, खै के छेक्यौँ र हामीले?

२.

समर

घर बचाउन,
एक एक पाइलो अगाडि जाँदा समरमा
आफ्नै घरको गीत
एकएक शताब्दी पुरानो हुँदैछ
एकएक पृथ्वी टाढा हुँदैछ
घरका सम्झना बोक्ने आँखामा
एकएक हिमाल पर्खाल लाग्दैछ
एकएक आकाश पर्दा खस्दैछ
हावामा एउटा तीव्र गीत सुनिन्छ दिनरात—
यो समर कसका लागि?

३.

शरणार्थी शिविरमा

शरणार्थी शिविरमा
दुवैतिर थिए बन्दुकका नाल
एउटा बर्साउँथ्यो गोली
अर्को, तर्क र विचारहरू !
कुनैबाट पनि तर
निस्कँदैनथ्यो देश
कतैबाट पनि आउँदैनथ्यो
रोटीको एक अवशेष ।

४.

छटपटी

सम्झेँ, “वसन्त मेरै हितमा निमग्न भो ।”
अनि पुनः सम्झेँ
वसन्तले बिथोलेका सयौँ कवि
र तिनले आँसुले लेखिछोडेका
मुटुछेड काव्यहरू ।
अन्त्यमा ती आमालाई सम्झेँ ––
जसले बालेर झिरिमिटी अगेनोमा
फुकाउन नपाउँदै
हातमा तुसारोले खोपेका किरिङमिरिङ रेखाहरू
थाहै पाइनन् वसन्त आएको–गएको ।
अन्ततः बुद्ध सम्झेँ, र निदाएँ ।

५.

दोधार

सानो छँदा,
जता टेके पनि ठूलाहरूको छाया टेकिन्थ्यो
हैकम टेकिन्थ्यो
हिँड्न डराउँथे ।
अहिले ठूलो भएपछि
जता टेके पनि बालकहरूका आँखा टेकिन्छन्
सपना टेकिन्छन्
हिँड्न डराउँछु ।
किन हुँदैन आकाशमा कुनै पुल,
कुनै बाटो?

६.

मौसम फेरिएपछि

आँखैमा रहुन्जेल त हो !
झरेपछि त
के आँसु, के पानी वा शीत?
सँघार नाघेर
तिमी भीडमा मिसिएपछि
मलाई घर र बजार उस्तै उस्तै लाग्न थालेको छ ।

७.

अपहृत उज्यालो

गीत गाएरै भगाउँथे पक्षीहरूले अँध्यारो
गीतै गाएर भित्र्याउँथे उज्यालो ।
त्यसै उज्यालोको आडमा हामीले
पिँजडा बनायौँ, र बन्दी पार्यौँ पक्षीहरूलाई ।
पिँजडाबाट केही वर्षपछि उनीहरूले बोले
मान्छेको बोली ।
घामभन्दा एक एक कदम अगाडिको परिवर्तन कल्पने मान्छे
त्यो बेलासम्म
लाटो कोसेरो बनिसकेको थियो ।

८.

भ्रम–विभ्रम

मेरो आँगनछेउ
मैेले आफैँ लगाएको दुबोमाथि
शीतको बिछ्यौना ओछ्याएर सुतेको घामलाई
कहिल्यै उघाउन सकिनँ हत्केलाले
मेरो सपना भने दिनरात मलाई
सगरमाथा जितेको आभास दिलाइरहन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार १०:२५   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।