Logo

कोभिडका बिरामी बोक्न फोर्स मोटर्सका जिप सहयोग



पोखरा, फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले कोभिड बिरामी बोक्न फोर्सका जिप सहयोग गरेको छ । कोभिड महामारीको दोस्रो लहर बढेसँगै संक्रमितहरु दिनप्रदिन बढिरहेका छन् । कोभिडको विषम परिस्थितिमा बिरामीहरुलाई गाउँगाउँबाट हस्पिटलसम्म बोक्नका लागि फोर्स जिपलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी कम्पनीले सहयोग गरेको हो ।

प्रा.लि.का अध्यक्ष ध्रुवबहादुर थापाले २ वटा जिप शनिबार नेपाली काँग्रेस कास्कीलाई हस्तान्तरण गरे । विभिन्न गाउँपालिका तथा ग्रामीण क्षेत्रबाट कोभिड बिरामी बोक्न जिप प्रयोग गर्नेगरी सहयोग गरिएको अध्यक्ष थापाले बताए । ‘कोभिड अवधिभर प्रयोग गर्ने गरी जिप सहयोग गरेका हौं,’ उनले भने ।

कम्पनीले पोखरा महानगरपालिका र लायन्सको सहकार्यमा लेखनाथमा बन्ने सय बेड क्षमताको कोभिड हस्पिटलका लागि पनि फोर्स जिप सहयोग गर्ने भएको छ । हस्पिटलका लागि छिट्टै जिप हस्तान्तरण गर्ने थापाले बताए । ‘यो महामारीमा कोभिड बिरामीहरु बढिरहेका छन् । एम्बुलेन्सको समेत अभाव भइरहेको सन्दर्भमा हामीले जिप सहयोग गरेका हौं,’ थापाले भने, ‘गाउँ-गाउँबाट हस्पिटलसम्म बिरामी बोक्नका लागि फोर्स जिप उपयुक्त हुने विश्वास लिएका छौं ।’

कोभिड महामारीको समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउँदै थापाले आवश्यकता अनुसार आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । लायन्सका पूर्व गभर्नरसमेत रहेका थापाले अन्य २ वटा फोर्स जिपसमेत एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी सहयोग गर्ने तयारी गरेका छन् । कोभिड अवधिभर प्रयोग गर्ने गरी विभिन क्षेत्र समेटेर ५ वटा जिप सहयोग गर्ने योजना थापाले बनाएका हुन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७८ शनिबार  २ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।