Logo

स्वास्थ्य

कोरोना संक्रमणबाट पछिल्लो १६ दिनमा २४ सय २४ को मृत्यु



सुजता अम्गाई

नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मुलुकलाई आक्रान्त बनाएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा बेड अभाव भएको छ भने आईसीयू र भन्टिलेटरको माग पनि पूरा गर्न सकिएको छैन । अक्सिजन अभावका कारण मानिसहरुको मृत्यु भइरहेको छ । अर्कोतर्फ कोरोना बाहेकका बिरामीहरुको संख्या पनि अस्पतालमा थपिँदै जाँदा उपचारमा चुनौती हुने गरेको चिकित्सकहरुले बताइरहेका छन् । नेपालमा कोरोना भाइरको संक्रमणबाट हुने मृत्युदर एक दशमलव ७७ प्रतिशत रहेको छ भने संक्रमण दर पनि विश्वमै सबैभन्दा बढी छ । 

नेपालमा विगत दुई हप्ता यता अर्थात् वैशाख २५ गतेदेखि जेठ ७ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यधिक बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार वैशाख २५ गते शनिबार ५३ जनाको मृत्यु भएको थियो । यो संख्या २०७७ जेठ २ मा भएको पहिलाो मृत्युपछिको सबैभन्दा उच्च संख्या हो । वैशाख २६ गते देशभर ८८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

वैशाख २५ बाट कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको हो । त्यसैगरि वैशाख २७ गते १०९ जनाको मृत्यु भएको थियो भने वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । वैशाख २९ गते बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घटेको थियो । बुधबार देशभर १६८ जनाको मृत्यु भएको थियो । वैशाख ३० गते फेरि बढेर मृत्यु हुनेको संख्या २१४ पुगेको थियो भने वैशाख ३१ गते शुक्रबार घटेर २०३ पुगेको थियो । 

जेठ १ गते देशरभ १८६ जनाको मृत्यु भएको थियो भने जेठ २ गते १४५ जनाको मृत्यु भएको थियो ।  जेठ ३ गते २२४, जेठ ४ गते १९६ जनाको मृत्यु भएको थियो भने जेठ ५ गते २४६ को मृत्यु भएको थियो । यो संख्या हालसम्मकै सबैभन्दा बढी भएको जनाइएको छ । जेठ ६ गते बिहीबार कोरोना संक्रमणबाट १९० जनाको मृत्यु भएको हो भने जेठ ७ शुक्रबार देशभर कोरोना संक्रमणबाट १७७ जनाको मृत्यु भएको छ । 

पछिल्लो १६ दिनको अवधिमा देशभर दुई हजार ४२४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालससम्म ६ हजार २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । 

देशभर कोरोना भाइरस संक्रमितको संख्या चार लाख ९७ हजार ५२ पुगेको छ भने सक्रिय संक्रिमतको संख्या एक लाख ५८ हजार ५२ छ । हालसम्म देशभर २८ लाख ७८ हजार १४६ जनाको पीसीआर परीक्षण गरिएको छ । 

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  १० : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।