विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई असंवैधानिक र स्वेच्छाचारी भएको ठहर गरेका छन् । विपक्षी गठबन्धनको शनिबार बसेको बैठकपछि पाँच दलका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदमको राजनीतिक र कानुनीरुपमा सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम प्रतिगमनकारी र मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गर्ने किसिमको भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन गर्ने प्रतिगमनकारी कार्यविरुद्ध एकजुट भइ नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापितनेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा आह्वान गर्दछौं ।”
राष्ट्रपति भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेपछि विपक्षी गठबन्धनले यसलाई अलोकतान्त्रिक कदमको संज्ञा दिएको हो ।
शुक्रबार राति नै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी थिइन् ।
प्रतिक्रिया