काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम सिफारिस भएको छ । सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिको आजको बैठकले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस गरेको हो । पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत छन् भने पौडेल बाहिरबाट सिफारिसमा परेका हुन् । पौडेल हाल संचार मन्त्रालय अन्तर्गत कै राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा कार्यरत छन् ।
यी ३ मध्ये सुशील पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त हुने सम्भावना उच्च छ । उनलाई नै प्रबन्ध निर्देशकमा नियुक्त गर्ने गरि छनौटको मापदण्ड नै परिवर्तन गरिएको स्रोतको दाबी छ ।
सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरीरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेर आन्दोलन गरिरहेका छन् ।
नेपाल टेलिकममा प्रवन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।





















प्रतिक्रिया