Logo

सुरक्षा/अपराध

एमाले कार्यकर्ताद्वारा भेरी अञ्चल अस्पतालमा डाक्टर र नर्स कुटिए, कडा कारवाही गर्ने प्रहरीको तयारी



बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण भएको घटनाको सत्यतथ्य बुझ्न लुम्बिनी प्रदेशका डिआइजि रबिन्द्र धानुक घटनास्थल गएका छन् । घटनाको बारेमा अस्पताल प्रशासनसंग बुझेर प्रहरीलाई थप कारबाही गर्न निर्देशन दिने उनको भनाइ छ ।

धानुकले अस्पतालमा भएको अमानबिय, अपराधजन्य घटनामा मुछिएका सबैलाइ मुद्धा चलाई कारबाही गर्ने बताए । यस्ता निन्दनिय घटनामा सामेल जोकोही भएपनि कानुनि दायरामा आउने भन्दै गलत हर्कत गर्ने विरुद्ध प्रहरी कडारुपमा प्रस्तुत हुने धानुकको भनाई रहेको छ । साथै उनले यो घटनालार्इ आफूले गम्भिररुपमा लिएको भन्दै दोषिलाई कारबाही हुने र शान्तीसुरक्षाको बाताबरण चुस्तदुरुस्त राखेर काम गर्ने बाताबरण बनाइने बताए ।

उपचार गराइरहेका आफन्तको मृत्युपछि नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताहरुले डाक्टर तथा नर्समाथि बिहीबार कुटपिट र हातपात गरेका थिए । उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४ ५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए ।

भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण श्रेष्ठले मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएको बताए ।
‘आइसियू कक्षमै डाक्टर र नर्सहरूमाथि हातपात भएको छ,’ श्रेष्ठले भने, ‘पिपिई सेट लगाएका नर्सलाई घाँटी अठ्याउने, लात्ताले हान्नेजस्ता हर्कत भए ।’
थप आक्रमण हुनबाट बच्न नर्सहरू भागेर शौचालयतर्फ जाँदा त्यहाँ गएर पनि उनीहरूले आक्रमण गरेको उनको भनाइ छ । ‘केही नर्स ज्यान जोगाउनकै लागि अस्पतालको छतबाट पनि हाम फाल्नुपर्‍यो,’ उनले भने ।
उनीहरूको आक्रमणबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०७८ शुक्रबार  १० : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।