Logo

स्वास्थ्य

विवेकशील नेपालीका संस्थापक संयोजक थापाको स्वास्थ्य अवस्था गम्भीर, उपचारका लागि सहयोग संकलन गरिँदै 



कोरोना भाइरसको संक्रमण भएपछि उपचारमा रहेका विवेकशील नेपालीका संस्थापक संयोजक उज्‍जवल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । कोरोना नेगेटिभ आइसकेको भए पनि फोक्‍सोको समस्याका कारण उनको स्वास्थ्य अवस्था जटिल बनेको उनका सहयोगी आलोक सुवेदीले जानकारी दिएका छन् ।

थापालाई करिब दुई साताअघि कोरोना पोजेटिभ देखिएको थियो । तर, हाल उनको कोरोना रिपोर्ट भने नेगेटिभ आइसकेको छ । 

उनका अनुसार थापालाई शुक्रबार नेपाल मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । चिकित्सकहरुले उनको उपचार भइरहेको भए पनि अवस्था गम्भीर रहेको बताएका छन् । 

कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि ह्याम्स अस्पतालमा उनको उपचार सुरु गरिएको थियो । त्यसपछि उनलाई ग्रान्डी अस्पताल रेफेर गरिएको थियो भने शुक्रबार उनलाई नेपाल मेडिसिटी अस्पताल लगिएको हो । 

उनको उपचारका लागि आर्थिक अभाव हुन नदिन सहयोग संकलन अभियान पनि सञ्‍चालन गरिएको छ । गो फन्ड मी डटकममार्फत उनको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान थालिएको छ । 

नेपालमा वैकल्पिक राजनीतिको विजारोपण गर्ने थापा एक निर्भिक र नयाँ नेपालका लागि अपरिहार्य नेता भएकोले उनको उपचारमा आर्थिक अभाव हुन नदिन सहयोग संकलन गर्न थालिएको बताइएको छ । उनको परिवारको जानकारीमा नै सहयोग संकलन सुरु गरिएको जनाइएको छ । सहयोगका लागि कुमारी बैंकको मैतीदेवी शाखामा रहेको आलोक सुवेदी नामको खाता नम्बर १९४०१०५०६५४००००१ मा तथा खल्ती र इसेबाट ९८१०२७६४७३ मा रकम जम्मा गर्न सकिने जनाइएको छ । 

 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  २ : १५ बजे